पोखरा — राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका संस्थापक केन्द्रीय सदस्य तथा जनसंस्कृतिक आन्दोलनका पुरोधा स्वर्गीय प्रा. डा. रविलाल अधिकारीको ८१ औं जन्म जयन्तीको अवसरमा राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेशको आयोजनामा खुल्ला कविता प्रतियोगिता गरिने भएको छ।
जनकवि, प्राज्ञ र जनसंस्कृति अभियन्ताको रूपमा चिनिएका अधिकारीको योगदानलाई सम्झिँदै साहित्यिक सिर्जनाको माध्यमबाट उनलाई सम्मान गर्ने उद्देश्यसहित कविता प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता खुल्ला हुनेछ, अर्थात् प्रदेशभरका कवि तथा साहित्यप्रेमीहरूका लागि सहभागी हुन पाइनेछ। कुनै उमेर, अनुभव वा पेशागत सीमाना नराखी जुनसुकै पृष्ठभूमिका स्रष्टाहरूले आफ्नो कविता पठाउन सक्नेछन्। सहभागीहरूले आफ्ना मौलिक कविता २०८२ असार १२ गतेभित्र [email protected] मा इमेलमार्फत पठाउनुपर्नेछ। कविता नेपाली भाषामा हुनुपर्नेछ र यसमा सिर्जनात्मकता, सामाजिक सरोकार, भाषा, भाव र शिल्पका आधारमा मूल्यांकन गरिने आयोजक संस्थाका अध्यक्ष शंकर विरही गुरुङले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट ठहरिने कविहरूलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रथम पुरस्कारको रूपमा नगद रु ११,१११, द्वितीय पुरस्कार रु ८,८८८, तृतीय पुरस्कार रु ६,६६६ र सान्त्वना पुरस्कार रु ४,४४४ प्रदान गरिनेछ। यो प्रतियोगिताले नयाँ र स्थापित दुवै कविहरूलाई समान रूपमा मूल्यांकन गर्ने उद्देश्य राखेको कार्यक्रम संयोजक प्रेमराज अधिकारीले जानकारी दिए ।
आइपुगेका कवितामध्येबाट विशेष छनोटमा परेका अन्तिम १५ जना प्रतियोगीले २०८२ असार १६ गते पोखराको न्युरोडस्थित होटल रोयल प्यालेसको सभाकक्षमा आयोजना हुने कविता वाचन कार्यक्रममा आफ्नो कविता प्रस्तुत गर्न पाउनेछन्। सो अवसरमा कवितावाचनसँगै प्रा. डा. रविलाल अधिकारीको जीवन, साहित्यिक योगदान र जनसाँस्कृतिक आन्दोलनमा गरेको भूमिकाबारे पनि चर्चा गरिनेछ। साथै, कविहरूबीच अनुभव आदान–प्रदान, सञ्जाल विस्तार र साहित्यिक संवादको अवसरसमेत प्रदान गरिने जनाइएको छ।
जनसाँस्कृतिक चेतनाको विकास, सिर्जनशीलताको प्रवर्धन र स्व. अधिकारीजस्ता योगदानशील व्यक्तित्वलाई स्मरण गर्दै आयोजित यो कार्यक्रम साहित्यिक क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ। आयोजकले कविता र साहित्यमा रुचि राख्ने सबैलाई सक्रिय सहभागिताको लागि आग्रह गरेको छ।

सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा