अन्तिम खेलमा पर्वतको शानदार जीत, नवलपुर समूह विजेताका रूपमा फाइनलमा

गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताः

अन्तिम खेलमा पर्वतको शानदार जीत, नवलपुर समूह विजेताका रूपमा फाइनलमा

नेट रन रेटको आधारमा कास्की र पर्वत नवलपुरभन्दा पछि परे

resham kc

पोखरामा जारी गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको लिग चरण अन्तर्गत आज भएको अन्तिम खेलमा पर्वतले गोरखामाथि ४९ रनको शानदार जीत दर्ता गरेको छ।

पोखरा रंगशालमा गोरखाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको पर्वतले ६ विकेट गुमाएर १४८ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्‍यो। पर्वतका लागि अभिराज पटेलले आक्रामक पारी खेले। उनले ३२ बलमा ५ छक्कासहित नटआउट ४७ रन बनाए।

त्यसैगरी, राजु थापाले ४४ बलमा ४ चौकासहित ३७ रन, सरोज खत्रीले १९ रन र विनोद नेपालीले ८ बलमा नटआउट १५ रनको योगदान दिए।

गोरखातर्फ बलिङमा स्वरुपराज श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए भने जीवन कार्कीले २ विकेट हात पारे।

१४९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको गोरखा टोली १७ ओभरमै ९९ रनमा समेटियो। ओपनर रुपेश बस्यालले १६ र युनिस थापाले २२ रन बनाए पनि अन्य खेलाडीहरूले उल्लेखनीय योगदान दिन सकेनन्।

पर्वतका बलर सन्दीप बि.क.ले ३ ओभरमा १९ रन खर्चेर ४ विकेट लिएर गोरखाको पारी धराशायी बनाए। कप्तान अमृत गुरुङले पनि ४ ओभरमा २ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि सन्दीप बि.क. ‘प्लेयर अफ द म्याच’ घोषित भए।

समूह बीमा  पर्वतसँगै कास्की र नवलपुर सशक्त टीम थिए । समूह ‘बी’ को समग्र अंक र नेट रन रेटको आधारमा नवलपुर फाइनलमा प्रवेश गर्न सफल भएको छ। पर्वत, कास्की र नवलपुरले समूहमा समान २–२ खेल जित्दै ४–४ अंक जोडेका थिए। नवलपुरको नेट रन रेट १.९९२४ रहेर शीर्ष स्थानमा रहँदा कास्कीको १.४८३३ र पर्वतको ०.८३०२ मात्र रह्यो।

यससँगै नवलपुर समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो। फाइनलमा अब नवलपुरले समूह ‘ए’को विजेता टोली स्याङ्जासँग खेल्नेछ ।

गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवर्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा ८ जिल्लाले सहभागिता जनाएका छन्। संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ। साथै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ