पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ ।
‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत सुरु भएको प्रतियोगिता दुई दिनसम्म चल्नेछ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फुटसल प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगिताको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जीतले उद्घाटन गरेका थिए । प्रतियोगिताका संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका २८ वटा टीमले सहभागिता जनाएका छन् ।
एसइइ परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीलाई खेलकुद गतिविधिमा सक्रिय बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको जोशीले बताए । जोशीका अनुसार प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः २० र १० हजार रुपैयाँ पुरस्कार राशी सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।

प्रमुख अतिथि रञ्जीतले खेलाडी पहिचान गर्नका लागि यस्ता प्रतियोगिता उपयुक्त अवसर भएको बताए । ‘विद्यालय तहमा अध्ययन गरिरहँदा कतिपय विद्यार्थीले आफ्नो क्षमता देखाउने अवसर पाएका हुँदैनन,’ रञ्जीतले भने, ‘फुटसलका यस्ता प्रतियोगिता नयाँ खेलाडी पहिचान गर्ने अवसर हो । बेलैमा उनीहरुको क्षमता पहिचान गर्न सकियो भने त्यसले भविश्यमा अब्बल खेलाडी उत्पादन गर्न सघाउँछ ।’ फुटबल खेलाडी चन्द्र गुरुङले विद्यार्थीका लागि फुटसलको मैदान क्षमता देखाउने अवसर बनेको बताए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले फुटसल प्रतियोगिताले युवापुस्ताको पछिल्लो खेल चासोलाई सम्बोधन गरेको बताए । ‘अहिले टोलटोलमा फुटसल मैदान तयार छन । खेलका यी पूर्वाधारले स्वास्थ्यमा पनि लाभ दिलाएको छ । त्यस्तै, यसले नयाँ खेलाडी पहिचान र उत्पादनमा पनि योगदान दिएको छ,’ सापकोटाले भने, ‘खेलाडीले क्षमता देखाउने अवसर पनि पाएका छन् ।’ कतिपय खेलाडीमा खेलकौशल भएपनि अवसर नपाउँदा उनीहरुको प्रतिभा लुक्ने गरेको उनले बताए । ‘खेलाडीलाई सक्षमता प्रर्दशन गर्ने अवसर पनि यस्तै प्रतियोगिता हुन,’ उनले भने ।

विद्यालयले ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत गत असार १ देखि विभिन्न खेलकुद तथा रचनात्मक गतिविधिका प्रतियोगिता संचालन गरिरहेको छ । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि संचालन भएका थिए । शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । शनिबार हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।
यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता सकिएका छन् । ‘यो खेल प्रतियोगिता मात्र होइन, एउटा फरक खालको महोत्सव पनि हो,’ प्राचार्य सापकोटाले भने, ‘यसले विभिन्न जिल्लाबाट आएका सहभागी विद्यार्थीलाई एकअर्कासँग सम्बन्ध बिस्तार गर्ने अवसर पनि दिएको छ । नयाँ साथी पहिचान गर्ने अवसर पनि यसले दिलाएको छ ।’
विद्यालयले अघिल्ला वर्ष पनि एसइइ दिएका विद्यार्थीका लागि यस्तै कार्यक्रम गर्दै आएको थियो । उनका अनुसार विद्यालयले खेलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरि २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिइने पनि विद्यालयले बताएको छ ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा