पोखरा । पोखरा– ३३, आँपुभन्ज्याङबाट २०८१ को एसईई सम्मिलित विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् । शतप्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीलाई शुक्रवार आयोजित एक कार्यक्रममा विद्यालयले सम्मान गरेको छ । कालिकाबाट १४ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालकिा, वडा नम्बर ३३ का वडा सदस्य प्रकाश कार्की, प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अध्यक्ष पुनलगायतले सम्मान गरेका थिए । विद्यार्थीहरूलाई बधाई दिँदै वडा सदस्य कार्कीले कालिकाले हासिल गरेको उपलब्धी समग्र ३३ नम्बर वडाकै गौरवको विषय भएको बताए । उनले जति ठुलो सफलता हासिल गरे पनि अनुशासनमा रहेर आफ्नो कर्मलाई अगि बढाउन विद्यार्थीहरूलाई सुझाव दिए । विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र आफ्नो परिवारले गरेको मिहिनेतको सधैँ स्मरण गर्नुपर्नेमा जोड दिँदै कार्कीले एसइईको सफलताले नयाँ मार्गप्रशस्त गरेको बताए ।
विव्यसका अध्यक्ष गङ्गाबहादुर पुनले विद्यार्थीको हितका लागि विव्यस सधैँ लागिपरेको बताउँदै प्रयासले सार्थकता प्राप्त गरेकामा खुसी व्यक्त गरे । आगामी दिनमा पनि विद्यालय र विद्यार्थीको हितका लागि आफूहरू सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले सफलताका लागि मिहिनेत गर्ने विद्यार्थी र शिक्षकलाई धन्यवाद दिए ।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटनका लागि गरेको प्रयत्नको फलस्वरूप उत्कृष्ट नतिजा हासिल गरेको बताए । उनले पाठ्यपुस्तकका अतिरिक्त विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नका लागि आफ्ना कार्ययोजना अगि बढाएको जानकारी दिए ।
विद्यार्थी प्रमिसा बानियाले विद्यालयले दिएको सकारात्मक ऊर्जाकै कारण सकारात्मक नतिजा प्राप्त भएको अनुभव सुनाइन् । अर्का विद्यार्थी सङ्गम श्रेष्ठले आफूले शिक्षकहरूबाट लिएको ज्ञानका अतिरिक्त विभिन्न प्रविधिका माध्यमबाट गरेको स्वाध्ययनले राम्रो अङ्क ल्याउन सहयोग गरेको बताए । सोही अवसरमा कक्षा १० मा अध्यापन गर्दै आएका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।
सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक अभिभावक सङ्घका सदस्य बेलबहादुर केसी, शिक्षक नारायणप्रसाद चापागाईँ, पूर्व सहायक प्रधानाध्यापक गोपीराज अधिकारीलगायतले शुभकामना दिएका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु