जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ । एक वर्षको अवधिमा १ करोड ४१ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्दै अहिलेसम्मकै उच्च आम्दानी गरेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा १ करोड १० लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष करिब ३० लाखले वृद्धि भएको हो । कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक भूपेन्द्र प्रसाद गौलीका अनुसार पछिल्ला तीन वर्षदेखि राजस्व सङ्कलन दर वृद्धि हुँदै आएको छ ।
उक्त अवधिमा ट्राफिक प्रहरीले १९ हजार २८९ सवारीसाधन र चालकहरूलाई नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ ।
सबैभन्दा बढी ६ हजार ७९३ मोटरसाइकल र सबैभन्दा कम १ हजार ४१५ ट्याक्टरलाई कारबाही गरिएको हो । त्यस्तै, २ हजार १९५ ट्रक, २ हजार ५१४ बस, ४ हजार ७५ जीप/कार/भ्यान, र २ हजार २९७ अन्य सवारीसाधनसमेत कारबाहीको दायरामा परेका छन् ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १ हजार ४२५ चालकलाई कारबाही गरिएको छ । साथै, लागूपदार्थ सेवन (लापसे) गरी सवारी सञ्चालन गर्ने १३ जनालाई समेत आवश्यक कारबाही गरिएको छ ।
ट्राफिक कार्यालयका अनुसार आव २०८१/८२ मा स्याङ्जा जिल्लामा १८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ९ जनाको मृत्यु, १५ जना गम्भीर घाइते र ५ जना सामान्य घाइते भएका छन् ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ४ हजार ४८५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उक्त अभियानमार्फत १ लाख १० हजार ३२० जनालाई ट्राफिक नियमसम्बन्धी जानकारी दिइएको कार्यालयले जनाएको छ ।
स्याङ्जा जिल्लाको करिब ९० किलोमिटर भाग सिद्धार्थ राजमार्गमा पर्ने भए पनि घुम्ती र पुराना सडक संरचनाका कारण नियमित चेकजाँचमा कठिनाइ हुने प्रहरी नायब निरीक्षक गौलीले बताएका छन् । यद्यपि, नियम कडाइ र सचेतनाले दुर्घटना न्यूनीकरणमा सघाउ पुगेको उनको विश्वास छ ।
सवारीसाधनको वृद्धि, अनुशासनहीनता र लापरवाहीका बाबजुद ट्राफिक कार्यालयले गरेको सक्रियता प्रशंसनीय छ । यस्ता पहलले दुर्घटनाको दर घटाउने मात्र होइन, नागरिकमा जिम्मेवारी बोध पनि गराउनेछ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह