दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो । स्काइ वाकका लागि प्रतिव्यक्ति २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।
ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काइ वाक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । १५ लाख रुपैयाँ लगानीमा स्काइ वाक निर्माण गरिएको हो ।
कुल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइलाबीचमा एक फिटको खाली स्थान राखिएको छ । उनले भने, ‘स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन ।’
यस ठाउँ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेकाले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
पृथ्वी राजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रूपमा विकास भएको छ । बिदा र शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।
ढुंगामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए । उनले भने, ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा अगाडि बढाएको छ । राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ ।’
ऐनापहराबाट गाउँपालिकाले ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ ।
यहाँ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृंखला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ ।
ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न आयोजनाको विस्तृत प्रतिवेदनअनुसार १० करोड बजेट आवश्यक पर्छ । प्रतिवेदनअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते