गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । नेपाली कांग्रेसका नेता गुरुङको आज बिहान ८ बजे आफ्नै निवास भरतपुर–२६, दिव्यनगरमा निधन भएको हो ।
७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । वि.सं २००६ माघ २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका साविक घलेल गाविस वडा नं. ४ मा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी पुगेका हुन् ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । झण्डै ३२ महिना प्रदेश प्रमुख भएका गुरुङ यहाँ सबैभन्दा बढी समय प्रदेश प्रमुख हुने अवसर पाएका थिए । उनी २०८० फागुन २८ गते पदमुक्त भएका थिए । गुरूङ पदमुक्त भएपछि सुदूरपश्चिमका अग्रज नेता डिल्लीराज भट्ट प्रदेश प्रमुख नियुक्त भएका हुन् ।
भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका थिए । नेपाली कांग्रेस विभाजन हुँदा उनी शेर बहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए ।
वि.सं. २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए ।
उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा आदित्य र श्रीमती लक्ष्मी प्रभा छन् । गुरूङका छोरा देश बाहिर क्यानडामा रहेकाले उनी आएपछि आइतबार अन्त्येष्टि गरिनेछ ।
गुरुङले वि.सं.२०३६ सालमा पृथ्वी नारायण क्याम्पसमा अध्यापन समेत गरेका थिए । उनी शहीद हरिप्रसाद गुरुङका सन्तान हुन् ।
विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी वि.सं. २०२९ सालमा नेपाली कांग्रेसमा आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिएका हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले करिब ३ वर्ष जेल जीवनसमेत बिताए । उनले लामो समय नेपाली कांग्रेस चितवनको सचिव र पछि दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । उनी पार्टीको केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका भएका थिए ।
प्रदेश प्रमुखको जिम्मेवारीमै रहँदा उनलाई क्यान्सर रोग निदान भएको थियो। त्यसपछि भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन। पछिल्लो समय उनलाई दिव्यनगरस्थित निवासमै आरामका लागि राखिएको थियो।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु