विवाहित पुरुषसँगको सम्बन्धले गयो ज्यान, तीन वर्ष ‘लिभिङ टुगेदरमा’ थिइन् निर्मला

अपराध

विवाहित पुरुषसँगको सम्बन्धले गयो ज्यान, तीन वर्ष ‘लिभिङ टुगेदरमा’ थिइन् निर्मला

प्रकाशका घरमा छन् श्रीमती, एक छोरा र एक छोरी

nirmala-thapa

नेपालगन्ज — बाँकेको नेपालगन्जमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरमा बस्दै आएका ३३ वर्षीय प्रकाश सुनारले २२ वर्षीया निर्मला थापाको हत्या गरेका हुन् । उनीहरू विगत तीन वर्षदेखि सँगै बस्दै आएका थिए।

बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता दीपक पतालीका अनुसार निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी कोठा बन्द गरेर प्रकाश फरार भएका थिए ।

घटनाको एक दिनपछि प्रकाशले मृतकका परिवारलाई फोन गरेर आफूले निर्मलाको हत्या गरेको खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रबार बिहान फोन गरेर निर्मलाको हत्या आफूले गरेको स्वीकार गर्दै आत्मसमर्पणका लागि प्रहरी कार्यालयमा जादै गर्दा प्रहरीले उनलाई प्रहरीले बीचबाटो धम्बोझी नजिकबाटै नियन्त्रणमा लिएको थियो ।

अभियुक्त प्रकाशले दिएको सूचनाका आधारमा उनीहरू बस्दै आएको डेरामा प्रहरी पुगेर मृतक निर्मलाको शव फेला पारेको थियो ।

विवाहित प्रकाशको घरमा श्रीमती, एक छोरा, एक छोरी रहेका छन् । ‘अभियुक्त प्रकाशले निर्मला मेरो कान्छी श्रीमती हो भन्ने बयान दिएका छन् । डीएसपी पतालीले भने, ‘हत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन, अनुसन्धानमा छौं ।’

दैलेख घर भएकी निर्मला नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटर थिइन् । प्रकाश भने नेपालगन्जमै रहेको स्वस्तिक कटेजमा क्याप्टेनका रूपमा कार्यरत थिए। हत्या भएको स्थान प्रकाश र निर्मला सँगै बस्ने डेरा थियो।

घटनाको नालीबेली

प्रकाश र निर्मला तीन वर्षदेखि सँगै बस्दै आएका थिए । एउटै होटलमा काम गर्दा उनीहरूबीच प्रेम सम्बन्ध हुँदै ‘लिभिङ टुगेदर’मा थिए।

पछिल्लो समय उनीहरू नेपालगन्जकै छुट्टाछुट्टै रेस्टुरेन्टमा काम गर्थे। त्यसो भएपछि उनीहरु एकअर्काबीच शंका गर्ने र त्यसमै विवाद हुन थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाश यसअघि नै विवाहित थिए भन्ने कुरा प्रेम र लिभिङ टुगेदरमा रहन थालिसक्दा पनि निर्मलालाई भने यो विषयमा थाहा थिएन। विवाहित भन्ने थाहा पाएपछि त्यही विषयमा पहिल्यै किन नभनेको भनेर विवाद हुने गरेको प्रहरीले जनाएको छ।

प्रकाश निर्मलालाई कान्छी श्रीमती भन्थिन्। हत्यापछि प्रहरीलाई फोन गर्दा पनि ‘कान्छी श्रीमतीलाई मारेँ’ भनेर जानकारी दिएका थिए।

प्रकाश नेपालगन्जमा निर्मलासँगै बस्छ भन्ने कुरा बारबर्दियामा रहेको उनका परिवारलाई पनि थाहा थियो। निर्मलाको हत्या बुधबार राति भएको अनुसन्धानबाट खुलेको छ।

बुधबार दुई जनाबीच भनाभन भएको थियो। विवाद भएको केही बेरपछि निर्मला निदाएकी थिइन्। उनी निदाएपछि आफू डोरी खोज्न लागेको र त्यही डोरीले निर्मलाको घाँटी कसेर हत्या गरेको प्रकाशले प्रारम्भिक बयानमा प्रहरीलाई बताएका छन्।

निर्मलाको हत्यापछि उनी रातभरि त्यही कोठामा बसेका थिए। बिहानपख उनी बाहिरबाट ताल्चा लगाएर निस्किएका थिए।

बिहीबार दिउँसो उनले निर्मलाको परिवारलाई पनि फोन गरेर आफूले उनको हत्या गरेको जानकारी दिएका थिए। शुक्रबार प्रहरीलाई फोन गरेपछि घटना बाहिरिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ