नेपालगन्ज — बाँकेको नेपालगन्जमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरमा बस्दै आएका ३३ वर्षीय प्रकाश सुनारले २२ वर्षीया निर्मला थापाको हत्या गरेका हुन् । उनीहरू विगत तीन वर्षदेखि सँगै बस्दै आएका थिए।
बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता दीपक पतालीका अनुसार निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी कोठा बन्द गरेर प्रकाश फरार भएका थिए ।
घटनाको एक दिनपछि प्रकाशले मृतकका परिवारलाई फोन गरेर आफूले निर्मलाको हत्या गरेको खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रबार बिहान फोन गरेर निर्मलाको हत्या आफूले गरेको स्वीकार गर्दै आत्मसमर्पणका लागि प्रहरी कार्यालयमा जादै गर्दा प्रहरीले उनलाई प्रहरीले बीचबाटो धम्बोझी नजिकबाटै नियन्त्रणमा लिएको थियो ।
अभियुक्त प्रकाशले दिएको सूचनाका आधारमा उनीहरू बस्दै आएको डेरामा प्रहरी पुगेर मृतक निर्मलाको शव फेला पारेको थियो ।
विवाहित प्रकाशको घरमा श्रीमती, एक छोरा, एक छोरी रहेका छन् । ‘अभियुक्त प्रकाशले निर्मला मेरो कान्छी श्रीमती हो भन्ने बयान दिएका छन् । डीएसपी पतालीले भने, ‘हत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन, अनुसन्धानमा छौं ।’
दैलेख घर भएकी निर्मला नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटर थिइन् । प्रकाश भने नेपालगन्जमै रहेको स्वस्तिक कटेजमा क्याप्टेनका रूपमा कार्यरत थिए। हत्या भएको स्थान प्रकाश र निर्मला सँगै बस्ने डेरा थियो।
घटनाको नालीबेली
प्रकाश र निर्मला तीन वर्षदेखि सँगै बस्दै आएका थिए । एउटै होटलमा काम गर्दा उनीहरूबीच प्रेम सम्बन्ध हुँदै ‘लिभिङ टुगेदर’मा थिए।
पछिल्लो समय उनीहरू नेपालगन्जकै छुट्टाछुट्टै रेस्टुरेन्टमा काम गर्थे। त्यसो भएपछि उनीहरु एकअर्काबीच शंका गर्ने र त्यसमै विवाद हुन थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रकाश यसअघि नै विवाहित थिए भन्ने कुरा प्रेम र लिभिङ टुगेदरमा रहन थालिसक्दा पनि निर्मलालाई भने यो विषयमा थाहा थिएन। विवाहित भन्ने थाहा पाएपछि त्यही विषयमा पहिल्यै किन नभनेको भनेर विवाद हुने गरेको प्रहरीले जनाएको छ।
प्रकाश निर्मलालाई कान्छी श्रीमती भन्थिन्। हत्यापछि प्रहरीलाई फोन गर्दा पनि ‘कान्छी श्रीमतीलाई मारेँ’ भनेर जानकारी दिएका थिए।
प्रकाश नेपालगन्जमा निर्मलासँगै बस्छ भन्ने कुरा बारबर्दियामा रहेको उनका परिवारलाई पनि थाहा थियो। निर्मलाको हत्या बुधबार राति भएको अनुसन्धानबाट खुलेको छ।
बुधबार दुई जनाबीच भनाभन भएको थियो। विवाद भएको केही बेरपछि निर्मला निदाएकी थिइन्। उनी निदाएपछि आफू डोरी खोज्न लागेको र त्यही डोरीले निर्मलाको घाँटी कसेर हत्या गरेको प्रकाशले प्रारम्भिक बयानमा प्रहरीलाई बताएका छन्।
निर्मलाको हत्यापछि उनी रातभरि त्यही कोठामा बसेका थिए। बिहानपख उनी बाहिरबाट ताल्चा लगाएर निस्किएका थिए।
बिहीबार दिउँसो उनले निर्मलाको परिवारलाई पनि फोन गरेर आफूले उनको हत्या गरेको जानकारी दिएका थिए। शुक्रबार प्रहरीलाई फोन गरेपछि घटना बाहिरिएको थियो।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह