पोखरामा पहिलो पटक आयोजना हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा पोखरा महानगरपालिका प्रबर्द्धकका रूपमा जोडिएको छ ।
आगामी भदौ २९ गते आयोजना हुने अवार्डका लागि बुधबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच अवार्ड प्रबर्द्धन सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरपालिकाको तर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरे । पोखरा भ्रमण वर्ष–२०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा हुन लागेको अवार्डलाई महानगरपालिकाले आर्थिक र नैतिक सहयोग गर्ने मेयर आचार्यले बताए ।
उनले भने, ‘पोखरा देशका ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य शहर हो । प्रतिष्ठित खेलकुद अवार्ड पोखरामा आयोजना हुँदा यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने विश्वास छ । यसमा महानगरपालिकाको आर्थिक र नैतिक सहयोग रहनेछ ।’
आफूहरू पर्यटनको राजधानी पोखरालाई खेलकुद पर्यटनको पनि राजधानी बनाउने अभियानमा लागेको पनि उनले बताए । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौंबाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपूर्ण रहेको बताउँदै अवार्डलाई देशव्यापी रूपमा आयोजना गर्ने उद्देश्यले चुनौती स्वीकार गरेको बताए ।
उनले पोखरा महानगरपालिकाको साथका कारण नै अवार्ड कार्यक्रम पोखरामा ल्याउन सफल भएको पनि बताए । अवार्डलाई प्रबर्द्धकको रूपमा साथ दिएकोमा उनले महानगरपालिकाका मेयर आचार्यसँगै महानगरपालिका परिवार र सम्पूर्ण पोखरावासीप्रति अभार पनि व्यक्त गरे ।
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड विश्वभरका खेल पत्रकारहरूको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एसियाली खेलुकद पत्रकार महासंघ (एआईपीएस एसिया)को नियमित क्यालेन्डर इभेन्ट हो ।
यसैगरी, एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पोखरामा आयोजना हुनुलाई आफूहरूले निक्कै उत्साहका साथ लिएको बताए । एनएसजेएफका महासचिव अञ्जन खड्काले पोखरा पर्यटन, खेलकुद र इभेन्टको मात्र नभई खेल पत्रकारिताको दृष्टिले पनि देशको एउटा महत्त्वपूर्ण र सशक्त शहर भएको बताए ।
अवार्डमा विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुने जानकारी पनि उनले दिए । अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला खेलाडी र युवा खेलाडी तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेशल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विधा समावेश छन् ।
उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट खेलाडी युवा, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस विधाका बिजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई नगद एक लाख रूपैयाँका दरले पुरस्कृत गरिने मञ्चका महासचिव खड्काले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला