पोखरा । गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उक्त कार्यालयको उद्घाटन गर्दै लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको उल्लेख गरे ।
प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको भन्दै गण्डकी प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयको स्थापना गरेको उनले बताए । पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न उक्त कार्यालय अग्रसर रहने विश्वास उनको छ ।
Advertisement
“गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको स्थापना एक ऐतिहासिक कदम हो, जसले पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्नेछ। यसले सञ्चार माध्यमहरूलाई व्यवस्थित गर्दै पत्रकार र सञ्चार संस्थाबीचको आपसी विश्वासलाई मजबुत पार्नेछ।”, उनले भने ।
प्रदेश सरकारले पत्रकारिताको स्वतन्त्रता र पेशागत अधिकारको रक्षा गर्दै जिम्मेवार सञ्चारलाई प्रोत्साहन दिन आवश्यक नीतिगत, संरचनात्मक र स्रोतगत सहयोग निरन्तर उपलब्ध गराउने उनले बताए ।
Advertisement
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा प्रेस रजिष्ट्रारको कार्यालय महत्वपूर्ण बन्ने बताए । प्रदेश सरकारले यस संस्थालाई आवश्यक नीति, संरचना र स्रोतसाधनका माध्यमबाट सहयोग गर्ने भनाई उनको छ ।
कार्यक्रममा प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानुनी अधिकार र कार्यक्षेत्रबारे विस्तृत जानकारी गराइन् । उनले कार्यालयले गर्ने कार्यहरूलाई स्पष्ट पार्दै कार्यालय केवल दर्ता र नवीकरणको निकाय मात्र नभई पत्रकारिता क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्ने अभिभावक संस्था हुने उल्लेख गरिन् ।
उनका अनुसार, कार्यालयले आमसञ्चार क्षेत्रको वार्षिक योजना तथा कार्यक्रम निर्माण, सञ्चार संस्थाको सञ्चालन अनुमतिपत्र प्रदान र नवीकरण, १०० देखि १,००० वाटसम्मको एफ.एम. रेडियोको इजाजत, छापामाध्यम, अनलाइन, टेलिभिजन र केबल वितरकको अभिलेख व्यवस्थापन, फ्रिक्वेन्सी योजना निर्माण, गुनासोको सुनुवाई, अनुसन्धान र मूल्याङ्कन, श्रमजीवी पत्रकारको सेवा–सुविधा अनुगमन, पत्रकारको कल्याणकारी कोष, विज्ञ सूची निर्माण, तालिम तथा छात्रवृत्ति समन्वय, पत्रकार।कल्याण कोष, लोककल्याणकारी विज्ञापन वितरण, वर्गीकरण र सिफारिस र प्रदेश सरकार, सञ्चार संस्था तथा पत्रकारबीचको समन्वय जस्ता जिम्मेवारीहरू निर्वाह गर्नेछ।
पत्रकारिता समाजको विश्वासको आधार भएको उल्लेख गर्दै कार्यालयको कार्यक्षेत्रले गुणस्तरियतामा ख्याल गर्ने उनको भनाई छ । पत्रकारहरूको पेशागत अधिकार सुनिश्चितता, आचारसंहिताको पालन र राज्यसँगको समन्वयमा कार्यालय अग्रसर रहने प्रतिबद्धता उनको छ ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी र सरोकारवालाहरूले कार्यालयको स्थापना गण्डकी प्रदेशको सञ्चार क्षेत्रमा संस्थागत सुधारको नयाँ पाटो भएको बताएका थिए। कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)