स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पोखरामा घुम्ती शिविर सञ्चालन गरेको छ । जेष्ठ नागरिकको सहजताका लागि सञ्चालन गरिएको घुम्ती शिविरबाट दुई सय चार जनाले लाभ पाएका छन् । यस शिविरबाट पोखरा बस्दै आएका अर्जुनचौपारी गाउँपालिका वडा-१ का १०, वडा-२ का २९, वडा-३ का २६, वडा-४ का ३३, वडा-५ का २९ र वडा-६ का ७७ जनाले लाभ पाएका हुन् ।
वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी पोखरा सेरोफेरोमा बस्दै आएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई गाउँपालिकाले पोखरामै पुगेर सेवा दिने व्यवस्था मिलाएको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष तिवारीका अनुसार शारीरिक रूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो बसोबास गर्दै आएको ठाउँमा नजिकै राखिएको शिविरबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको हो । ‘‘गाउँपालिकाबाट वडाअध्यक्षसहित पञ्जिकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरणको काम गरेका हौं,’’ तिवारीले भने ।
गाउँपालिकाका अनुसार यो अभियानले वडा कार्यालयमा भीड कम गर्न मद्दत पुगेको छ । वडाअध्यक्षसहित पञ्जिकरण शाखाका कर्मचारी खटिएर पालिकाभित्रका नागरिकहरु जहाँ बसोबास गरे पनि सेवा पाउनुपर्छ भन्ने उद्देश्यले गत मंगलबारदेखि शुक्रबारसम्म पोखरा पृथ्वीचोकस्थित होटल दीपज्योतिमा सामाजिक सुरक्षा भत्ता नवीकरणसम्बन्धी घुम्ती शिविर सञ्चालन गरिएको थियो ।
उक्त शिविरबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायतका लाभग्राहीहरुले नवीकरण सेवा पाएका छन् । यस शिविरले पालिकाबाट टाढा बस्ने र आवागमनमा कठिनाइ भोग्ने व्यक्तिलाई विशेष सुविधा पुगेको छ ।
पोखरा बस्दै आएका अर्जुनचौपारी -४ का अनुरुद्र चापागाईंले आफू बसोबास गर्ने ठाउँ नजिकै शिविर सञ्चालन गरेर समयमै र सहजरूपमा पालिकाले सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरे । यस्तै, काठमाडौंबाट पोखरा शिविरमा सेवा लिन आएकी अर्जुनचौपारी गाउँपालिका -३ की पूर्ण कुमारी घलेले कारण विशेष पालिकाभन्दा टाढा बसेपनी पालिकाले आफूहरुलाई सहजीकरण गरेर सेवा दिँदा धेरै राहत भएको बताइन् ।
जिल्लाका अन्य पालिकामा भने नवीकरणको काम वडा कार्यालयमै भइरहेको छ । जिल्लाका ११ वटै पालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आए पनि बैंक र पालिकाबीचको समन्वय अभावका कारण भत्ता लिन घण्टौँ लाममा बस्नुपर्ने गुनासो लाभान्वितहरूले व्यक्त गर्दै आएका छन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा