गण्डकीमा घरेलु मदिरा उत्पादनलाई कानुनी मान्यता, उद्योग दर्ता भने अनिवार्य

विधेयक पारित

गण्डकीमा घरेलु मदिरा उत्पादनलाई कानुनी मान्यता, उद्योग दर्ता भने अनिवार्य

प्याकेजिङमा कच्चा पदार्थ, उत्पादन मिति, प्रयोग विधि र अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट उल्लेख गर्नुपर्ने

Gandaki Pradesh Sabha

पोखरा । गण्डकी प्रदेश सभाले परम्परागत घरेलु मदिरा उत्पादनलाई व्यवस्थित र नियमन गर्ने विधेयक पारित गरेको छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकले ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्ने ऐन’ सर्वसम्मतिले पारित गरेको हो । यससँगै अब घरेलु मदिरा उद्योग दर्ता गर्न सकिनेछ । तर व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण गर्न उद्योग दर्ता वा इजाजतपत्र लिनुपर्नेछ ।

ऐनले व्यक्तिलाई आफ्नो परम्परा, संस्कार र घरायसी प्रयोजनका लागि वार्षिक ६० लिटरसम्म घरेलु मदिरा र जाँड उत्पादन गर्ने छुट दिएको छ । तर, यसभन्दा बढी वा व्यावसायिक प्रयोजनका लागि भने कानुनी अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

स्थानीय कच्चा पदार्थको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्यसहित विधेयकले कोदो, मकै, फापर, जौ, गहुँ, स्याउ, सुन्तला, ऐसेलु, चुत्रो लगायतका फलफूल र अन्नबालीबाट गुणस्तरीय मदिरा उत्पादनलाई प्राथमिकता दिएको छ । यसबाट आयात प्रतिस्थापन, स्थानीय आम्दानी वृद्धिदेखि सांस्कृतिक परम्पराको संरक्षणसम्म हुने अपेक्षा गरिएको छ ।

मदिराको गुणस्तर सुनिश्चित गर्न पहिलोपटक ‘मर्चा’ उत्पादनलाई समेत नियमनको दायरामा ल्याइएको छ । व्यावसायिक रूपमा मर्चा उत्पादन वा बिक्री वितरण गर्न इजाजत लिनुपर्नेछ भने प्रयोगशालाबाट परीक्षण अनिवार्य गरिएको छ । प्याकेजिङमा कच्चा पदार्थ, उत्पादन मिति, प्रयोग विधि र अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै, अब प्लास्टिकको डब्बामा मदिरा बिक्री गर्न पाइने छैन । तोकिएको मापदण्ड पूरा गरेका बोतल प्रयोग गर्नुपर्ने र बोतलमा उत्पादकको नाम, ठेगाना, अल्कोहलको मात्रा र मूल्य नेपाली तथा अंग्रेजी दुवै भाषामा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

गुणस्तर परीक्षणका लागि प्रदेश सरकारले आफ्नै प्रयोगशाला स्थापना गर्ने वा तोकिएको प्रयोगशालामार्फत परीक्षण गर्ने अधिकार राख्नेछ । कानुन उल्लंघन गर्नेले ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने र थप कानुनी कारबाहीको सामना गर्नुपर्नेछ ।

प्रदेश सभा बैठकमा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले विधेयक प्रस्तुत गरेका थिए । छलफलमा सांसदहरू दीपेन्द्रबहादुर थापा, गणेशमान गुरुङ, रेशम जुग्जाली र बिन्दु पौडेलले सहभागिता जनाएका थिए । समितिको लामो छलफल र संशोधनपछि अन्ततः विधेयक पारित भई ऐनको रूपमा लागू भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ