पोखरा । गण्डकी प्रदेश सभाले परम्परागत घरेलु मदिरा उत्पादनलाई व्यवस्थित र नियमन गर्ने विधेयक पारित गरेको छ ।
मंगलबार बसेको प्रदेश सभाको बैठकले ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्ने ऐन’ सर्वसम्मतिले पारित गरेको हो । यससँगै अब घरेलु मदिरा उद्योग दर्ता गर्न सकिनेछ । तर व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण गर्न उद्योग दर्ता वा इजाजतपत्र लिनुपर्नेछ ।
ऐनले व्यक्तिलाई आफ्नो परम्परा, संस्कार र घरायसी प्रयोजनका लागि वार्षिक ६० लिटरसम्म घरेलु मदिरा र जाँड उत्पादन गर्ने छुट दिएको छ । तर, यसभन्दा बढी वा व्यावसायिक प्रयोजनका लागि भने कानुनी अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
स्थानीय कच्चा पदार्थको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्यसहित विधेयकले कोदो, मकै, फापर, जौ, गहुँ, स्याउ, सुन्तला, ऐसेलु, चुत्रो लगायतका फलफूल र अन्नबालीबाट गुणस्तरीय मदिरा उत्पादनलाई प्राथमिकता दिएको छ । यसबाट आयात प्रतिस्थापन, स्थानीय आम्दानी वृद्धिदेखि सांस्कृतिक परम्पराको संरक्षणसम्म हुने अपेक्षा गरिएको छ ।
मदिराको गुणस्तर सुनिश्चित गर्न पहिलोपटक ‘मर्चा’ उत्पादनलाई समेत नियमनको दायरामा ल्याइएको छ । व्यावसायिक रूपमा मर्चा उत्पादन वा बिक्री वितरण गर्न इजाजत लिनुपर्नेछ भने प्रयोगशालाबाट परीक्षण अनिवार्य गरिएको छ । प्याकेजिङमा कच्चा पदार्थ, उत्पादन मिति, प्रयोग विधि र अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
त्यस्तै, अब प्लास्टिकको डब्बामा मदिरा बिक्री गर्न पाइने छैन । तोकिएको मापदण्ड पूरा गरेका बोतल प्रयोग गर्नुपर्ने र बोतलमा उत्पादकको नाम, ठेगाना, अल्कोहलको मात्रा र मूल्य नेपाली तथा अंग्रेजी दुवै भाषामा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
गुणस्तर परीक्षणका लागि प्रदेश सरकारले आफ्नै प्रयोगशाला स्थापना गर्ने वा तोकिएको प्रयोगशालामार्फत परीक्षण गर्ने अधिकार राख्नेछ । कानुन उल्लंघन गर्नेले ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने र थप कानुनी कारबाहीको सामना गर्नुपर्नेछ ।
प्रदेश सभा बैठकमा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले विधेयक प्रस्तुत गरेका थिए । छलफलमा सांसदहरू दीपेन्द्रबहादुर थापा, गणेशमान गुरुङ, रेशम जुग्जाली र बिन्दु पौडेलले सहभागिता जनाएका थिए । समितिको लामो छलफल र संशोधनपछि अन्ततः विधेयक पारित भई ऐनको रूपमा लागू भएको छ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस