पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । हालै नवयुवा पुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
हालै नव युवा नेतृत्वको आन्दोलनपश्चात् शान्तिपूर्ण निकासका साथ मुलुक अघि बढिरहेको जनाउँदै उनले संविधान, संसदीय प्रणाली र संघीय लोकतन्त्र गणतन्त्र कायम राख्न सफल भएको उल्लेख गरेका छन् ।
प्रदेश प्रमुख भट्टले भनेका छन् – ‘फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेछ । निर्वाचन नै मुलुकको निकास भएकाले आजको संवेदनशील घडीमा उपयुक्त वातावरण बनाउन सबै सम्बद्ध पक्षहरुलाई विशेष आव्हान गर्दछु ।’
नवयुवा पुस्ताको आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो पार्दै यसको पूर्ण कार्यान्वयनले मुलुकले गति लिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
‘अबका कदमहरु संविधानको कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा हुनेछ । संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई स्थायी शान्ति र समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु ।’ – उनले भनेका छन् ।
यस कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि यथोचित सहयोग रहने विश्वास व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
‘देशमा शान्ति, जनताको हित र उन्नति भन्दा ठूलो हाम्रो कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट उत्प्रेरित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।’ भट्टले भनेका छन् ।
वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको उनको भनाई छ ।

सम्बन्धित खबर
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती