पोखरा । जेनजी आन्दोलनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको काँग्रेस एमाले गठबन्धन सरकार सत्ताच्युत गरेपछि पहिलो पटक पोखरामा कार्यकर्ता भेला भएको छ । एमाले पोखरा महानगर कमिटीले गरेको कार्यकर्ता भेलामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी प्रमुख वक्ता थिए ।
उनले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा देशका चारै सुरक्षा निकायका मानिसहरू बिकेको गम्भीर आरोप लगाएका छन् । प्रमुख वक्ता अधिकारीले देशका सुरक्षा अंगका मानिसहरू बिकेका कारण यो परिस्थिति सिर्जना भएको आरोप लगाएका हुन् ।
नेपालमा ‘डिप स्टेट’ का स्टेकहोल्डरहरूले राज्य कब्जा गर्ने प्रयास गरेको र यसमा विभिन्न राजनीतिक दलका आन्तरिक विवाद र समानान्तर गतिविधिहरू पनि सहयोगी बनेको उनको भनाई थियो । उनले भिम मल्ल र भीमसेन थापाले पनि ‘डिप स्टेट’ का कारण फाँसी पाएको इतिहास रहेको सुनाए ।
पूर्वगृहमन्त्रीसमेत भएका कारण आफूलाई सूचना आउने बताएका नेता अधिकारीले जेनजी आन्दोलनमा सुरक्षा निकायका मानिसहरू बिकेको गम्भीर आरोप लगाएका हुन् ।
‘यो पार्टी जोगाउने तपाईं पंक्तिलाई मैले भन्नैपर्छ यी चारै सुरक्षा निकायका मान्छेहरू बिकेका हुन्, डिपस्टेट स्टेकहोल्डरबाट,’ अधिकारीको गम्भीर आरोप थियो ।
उनले ओली सरकारका पालामा दलाई लामाको उत्तराधिकारी घोषणा कार्यक्रम नेपालमा गर्न नदिएको, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) को समानान्तर अर्थतन्त्रलाई नियमन गरेको तथा एलन मस्कलाई नेपालमा स्याटेलाइट फिड गर्न अनुमति नदिएका कारण ‘डिप स्टेट’ को प्रहार भएको तर्क गरेका छन् ।
स्थायी कमिटीमा भइसकेको, सरकारमा भइसकेको मान्छेले यस्तो किन बोल्यो भन्ने लाग्न सक्ने भन्दै अधिकारीले डिपस्टेटका अनौपचारिक क्षेत्रबाट राज्य कब्जा गर्नेहरूको संयुक्त प्रयास भएको जिकिर गरेका छन् ।
कार्यक्रममा केन्द्रीय समितिको बैठकका लागि सुझाव भन्दै कार्यकर्तालाई बोल्ने अवसरसमेत दिइएको थियो । कार्यकर्ताले एमाले पनि सच्चिनुपर्ने र अब थप परिस्कृत हुँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।
नेताकार्यकर्ताको सुझावसँगै वर्तमान परिस्थिति, त्यसको कारण र अबको रणनीतिबारे संघीय सरकारका पूर्व गृहमन्त्रीसमेत रहेका अधिकारीले बोलेका हुन् । ओलीका कारण नभइ देशमा उत्तर–दक्षिण (चीन र भारत) ले खेलेका कारण अहिलेको परिस्थितति उत्पन्न भएको अधिकारीको भनाइ थियो ।
त्यतिमात्रै होइन, अधिकारीले पार्टी नेतृत्वमा केपी ओलीलाई कसैले छोयो भने चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन् ।
‘नेतृत्व केपी शर्मा ओलीलाई बाहिर फालेर त्यही डिपस्टेट होल्डरहरूले केही समुन्द्रपारिका, छिमेकका डिपस्टेट होल्डरहरूले गरेको कामको मतियार नेकपा एमाले हुन सक्दैन,’ अधिकारीले भने, ‘केपी ओलीलाई छोयो भने, गिरफ्तार गर्यो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने छ, कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउने छ, यहाँबाट सुरु गरौं । किनभने भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो । गोविन्द पौडेलले रगत बगाएको ठाउँ हो ।’
चमत्कारिक हिसाबले यो घटना कसरी घट्यो भन्ने नेता कार्यकर्तालाई लागेको हुनसक्ने बताउँदै शृंखलाबद्ध रूपमा भएको जिकिर गरे । अहिले दक्षिण र उत्तरबीचको लडाइँमा नेपाल परेको उनको भनाइ थियो ।
कांग्रेस पहिलो दिनदेखि नै राज्य सञ्चालनमा अप्रत्यक्ष भूमिका खेल्ने शक्तिको प्रभावमा परेको अधिकारीको आरोप थियो ।
शेखर कोइराला, गगन थापा लगायतले ओली सरकार ढाल्ने प्रतिबद्धता गरेको अधिकारीको भनाइ छ ।
अधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि गम्भीर आरोप लगाए । प्रचण्ड पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बनाएर आफू प्रधानमन्त्री हुन्छु भनेर लागेको उनको आरोप छ ।
‘फेरि पनि राष्ट्राध्यक्ष ज्ञानेन्द्र र म प्रधानमन्त्री हुन्छु भन्नुभयो । उहाँमा प्रधानमन्त्री हुन्छु भन्ने यति धेरै धोको थियो, त्योबाहेक उहाँले सोच्नुभएको छैन,’ अधिकारीको आरोप थियो ।
अधिकारीले आफू गृह मन्त्रालयमा रहेको हुनाले पनि सुरक्षा निकाय बेखबर नभएको जिकिर गरे । जेनजी आन्दोलन र सम्भावित घटनाक्रमबारे प्रधानमन्त्री ओली पनि जानकार भएको उनको भनाइ थियो ।
उनले ओली नेतृत्वको सरकारलाई असफल बनाउन र नेपालको सन्तुलित परराष्ट्र नीतिलाई कमजोर पार्नका लागि यस्तो भएको दाबी गरेका छन् ।
सम्बन्धित खबर
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
जेनजी आन्दोलनमा बाइक जलाइएपछि देउसीभैलो खेलेरै किने प्रहरीले
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट