कास्की रूपाका सहायक हवल्दार अमृत गुरुङको हत्याका आरोपी १९ वर्षीय अनुपमले के दिए बयान ?

अपराध

कास्की रूपाका सहायक हवल्दार अमृत गुरुङको हत्याका आरोपी १९ वर्षीय अनुपमले के दिए बयान ?

१२ कक्षासम्म अध्ययन गरेर क्रिकेट सिकिरहेका थिए अभियुक्त

amrit gurung

भदौ २४ को आन्दोलनमा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको हत्याका आरोपी युवक जेल चलान भएका छन्। कैलालीको लम्किचुहा नगरपालिका ४ घर भई कोटेश्वर बस्ने १९ वर्षीय अनुपम भण्डारीलाई मंगलबार जिल्ला अदालत, काठमाडौंले जेल चलानको आदेश दिएको हो।

पक्राउ परेका भण्डारीले बयानको क्रममा प्रहरी हत्याको अभियोग स्वीकार गरेका छन्। उनीसहितका व्यक्तिले सहायक हवल्दार गुरुङलाई कार्यालयभित्रै नियन्त्रणमा लिई सडकमा ल्याएर चक्कु हानी हत्या गरेका थिए। त्यस्तै, प्रहरी सहायक हवल्दार मनीषसिंह ठगुन्नालाई हत्या प्रयास गरेका थिए।

उनी मेगा कलेजबाट हालै १२ कक्षा उत्तीर्ण गरेका युवक हुन्। आफूले बैंग्लोरमा गएर २ हप्ता क्रिकेटको तालिम लिएको र शान्तिनगरस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भर्ना भई क्रिकेट सिकिरहेको बताएका छन्।

सेवामा रहेकै समयमा कास्कीको रुपा गाउँपालिका–५ रामादीका ३१ वर्षीय प्रहरी सहायक हवल्दार गुरुङ प्रदर्शनकारीको आक्रमणमा परे का थिए । उनको शव भदौ २७ गते मा घर आइपुग्यो र २८ गते नै उनको अन्त्यष्टि गरिएको हो ।

गुरुङ ७ वर्षअघि नेपाल प्रहरीमा भर्ना भएका थिए। रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार गुरुङका २२ महिनाको छोरा, श्रीमती, बुबा र हजुरबुबा छन्। उनका आमाको ९ महिनाअघि मृत्यु भएको थियो।

गुरुङलाई आन्दोलनकारीले ढुंगामुढा तथा फलामको रड र चक्कुले प्रहार गरेर सडकमा घिसार्दै अचेत र रगताम्मे अवस्थामा सडकमै फालिदिएका थिए। तर स्थानीयले उनलाई उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्कोमा लगेका थिए। सोही दिन दिउँसो पौने ५ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको थियो।

निषेधाज्ञाको समयमा ड्युटीमा खटिएका आफ्ना श्रीमान्‌को हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै उनकी पत्नी कान्ती गुरुङले जाहेरी दिएकी थिइन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई कैलालीबाटै पक्राउ गरेर ल्याएको थियो। इलाका प्रहरी कार्यालय लम्कीको सहयोगमा असोज १३ गते पक्राउ परेका भण्डारीले हत्यामा आफ्नो संलग्नता स्वीकार गर्दै बयान दिएका छन्।

प्रहरी हत्याका आरोपी भण्डारी काठमाडौँकै मेघा कलेजमा १२ कक्षासम्म अध्ययन गरेर घर फर्किएका थिए। करिब २ महिना पहिले भारतको बैंग्लोरमा २ हप्ता क्रिकेट सिकेर फर्किएका उनी आन्दोलनको एकसाता पहिले मात्रै काठमाडौँ आएका थिए।

काठमाडौँ आएर ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा क्रिकेट सिकिरहेका भण्डारी २३ गतेको आन्दोलनमा भने सहभागी भएका थिएनन्।

उनले प्रहरीलाई दिएको बयान अनुसार उनी २४ गते दिउँसो १२ बजेतिर आन्दोलनमा निस्किएर कोटेश्वर पुलमा पुगेका थिए। त्यहाँ आन्दोलनकारीले प्रहरीलाई कुट्दै लखेटिरहेका थिए।

कोटेश्वर प्रभागमा आन्दोलनकारीले आगो लगाइसकेका थिए। कार्यालय जलाएपछि प्रहरीहरू छतबाट एउटा घरबाट अर्को घरको छतमा हामफाल्दै भागिरहेका थिए। यसरी भाग्दा पनि आन्दोलनकारीले ढुंगामुढा गर्दै लखेट्न छाडेका थिएनन्। यसरी लखेट्नेमा भण्डारी पनि सामेल थिए।

आन्दोलनकारीले एक प्रहरीलाई नियन्त्रणमा लिएर कुट्दै घिसार्दै छतबाट तल झारिरहेका थिए। तेस्रो तलामा रहेका भण्डारीले पनि प्रहरीलाई चक्कु प्रहार गरेका थिए। ती व्यक्तिलाई आन्दोलनकारीले बाथरुममा लगेर ढोका थुनेर रगताम्य छाडिदिएका थिए।

नजिकै अर्का प्रहरीलाई रगताम्य अवस्थामा सडकमा घिसारिरहेका थिए। ती सहायक हवल्दार अमृत गुरुङ थिए। खुट्टामा समातेर आन्दोलनकारीले सडकमा घिसारिरहेका गुरुङलाई भण्डारीले पनि चक्कु प्रहार गरेको स्वीकार गर्दै बयान दिएका छन्।

अन्य आन्दोलनकारीले पनि लाठी, मुक्कालगायत जे भेट्यो त्यसैले प्रहार गरेका थिए। पूर्ण रुपमा अचेत भएपछि सडकमा छाडेर आफू कोठा फर्किएको बयान भण्डारीले दिएका छन्।

त्यसको केही दिनमा कैलाली पुगेका भण्डारीलाई १३ असोजमा कैलालीबाटै पक्राउ गरेको हो। प्रहरीले काठमाडौँ ल्याएर अनुसन्धान अगाडि बढाएको थियो। भण्डारीले प्रहरीको हत्या गर्दा लगाएका कपडासमेत प्रहरीले बरामद गरेको छ।

उनले बयानमा भनेका छन्, ‘कोटेश्वरको प्रहरी कार्यालय आगोमा दनदनी जलिरहेको थियो भने केही प्रहरीहरू घरको छतैछतमा एक घरबाट अर्को घरमा हाम फाल्दै भाग्दै गरेको र पछाडिबाट जेन-जी आन्दोलनकारीहरूले लखेट्दै गइरहेका देखी मसमेत त्यसतर्फ गएको हुँ। पछि मसमेत भई प्रहरी लाई एक घरदेखि अर्को घरमा लखेट्दै जाने क्रममा म पुगेको घरको तेस्रो तलामा पुग्दा सोही घरको पाँचौँ तलामा अन्य आन्दोलनकारीहरूले एकजना प्रहरीलाई भेट्टाई नियन्त्रणमा लिई कुट्दै घिसार्दै म भएको तेस्रो तलामा ल्याई पुर्‍याउँदा मैले समेत निज प्रहरीलाई कुटपिट गर्दै चक्कुले प्रहार गर्दा निज प्रहरीको दाहिनेतर्फ पाखुरामा चोट लाग्न गएको हो। तत्कालै मैले नचिनेका २ जना पुरुष व्यक्तिले निजलाई कुट्दै गरेको अवस्थाबाट तानी बाथरुममा हाली ढोका लगाएका हुन। त्यहाँ रहेका अन्य आन्दोलनकारीहरूले निज प्रहरीलाई पेट्रोल बम हानी आगो लगाई जलाई मार्नुपर्छ भन्दै गरेका थिए। सोपश्चात् अर्को प्रहरीलाई रगताम्य अवस्थामा केही आन्दोलनकारीहरूले कुटपिट गर्दै खुट्टा समाती घिसार्दै ल्याउँदै गरेको अवस्थामा मैले समेत निजको खुट्टामा समाती घिसार्दै बाहिर सडकमा ल्याई महादेव मन्दिरतर्फ जाने मेन सडकमा पुर्‍याई चक्कुले प्रहार गरेको हुँ।’

यस्तो छ उनको बयानः

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ