स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अध्यावधिकको काम तीव्र रुपमा चलिरहेको छ । यस क्रममा दुई हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार सरकारद्वारा अध्यादेश ल्याइएपछि दैनिक ४० देखि ५० जनासम्म नाम दर्ता तथा फोटो खिचाउन कार्यालयमा आउने गरेका छन् । उनले कात्तिक मसान्तसम्म यो काम निरन्तर चल्ने जानकारी दिए ।
तर, अघिल्लो प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपालि स्याङ्जामा मतदाता संख्या घटेको छ । अहिले जिल्लाभर २ लाख ४१ हजार ६९९ जना मतदाता रहेका छन् भने २०७९ सालको निर्वाचनमा २ लाख ४४ हजार ८९ जना थिए ।
निर्वाचन कार्यालयका अनुसार चार हजार ४७ जनालाई नामावलीबाट हटाइएको छ । तीमध्ये मृत्यु भएकाहरू ३ हजार ४४६ जना, दोहोरो नामावली भएका ५९० जना र नागरिकता त्याग गरेका ११ जना रहेका छन् । प्रमुख थापाका अनुसार यस पटक कुल मतदाता संख्या अघिल्लो भन्दा २ हजार ३९० ले घटेको छ ।
यसैबीच, फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सिफारिस समितिको बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले तोकिएको समयमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न सबै निकायले सहकार्य गर्नुपर्ने बताए । “वर्तमान परिस्थितिमा चुनावले मात्रै निकास दिन सक्छ, त्यसैले सबैले आफ्नो जिम्मेवारी निर्वाह गरौं,” उनले भने ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता नामावलीका लागि फोटो खिच्न आफ्नो जिल्ला कार्यालयमै पुग्नुपर्ने व्यवस्था छ । तर, आवश्यक परे अन्य जिल्ला निर्वाचन कार्यालयबाट पनि सो सेवा लिन सकिने छ ।
मतदाता दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विवाह भएको भए विवाह दर्ता प्रमाणपत्र, र अन्य आवश्यक कागजात अनिवार्य हुने कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्