स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सञ्चालन गरिएको वृहत् स्वास्थ्य शिविरबाट छ सय ३१ जना नागरिक विशेषज्ञसहितको सेवाबाट लाभान्वित भएका छन् ।
अर्जुनचौपारी गाउँपालिका र खुमा अर्याल फाउन्डेसनको सहकार्यमा वडा नं–१ मा रहेको प्रशासकीय भवन प्राङ्गणमा सञ्चालन गरिएको शिविरमा विभिन्न रोगको परीक्षण र उपचार सेवा पाएपछि स्थानीयवासी उत्साहित देखिएका थिए ।
शिविरमा मुटु तथा मृगौला सम्बन्धी समस्यासहित विभिन्न रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो । जनरल फिजिसियनमार्फत सबै प्रकारका रोगको प्रारम्भिक जाँच गरिनुका साथै भिडियो एक्स–रे, मुटुको इको र ईसीजी तथा आवश्यक प्रयोगशाला परीक्षणहरू तथा विविध ल्याब सेवासमेत निःशुल्क गरिएको थियो । महिलाका लागि पाठेघरको क्यान्सर जाँच सेवा पनि उपलब्ध थियो । शिविरमा उपचारका क्रममा समस्या देखिएका बिरामीलाई आवश्यक औषधी निःशुल्क वितरण गरिएको फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए ।
गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा मुटुरोगका ५२, बालरोग ३४, छालारोग १०८, जनरल मेडिसिन ४६०, दन्तरोग ३६, रेडियोलोजी सेवा १२९, स्त्री तथा प्रसूति रोग ४५, हाडजोर्नी तथा नसारोग ८५ र नाक, कान, घाँटी तथा आँखाका करिब २०० जनाले सेवा लिएका हुन् ।
शिविरमा उपचार गराउन आएका मध्ये जटिल समस्या देखिएका एक सय २० जना बिरामीलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । रिफर गरिएका बिरामीका लागि औषधीमा पाँच प्रतिशत र उपचार सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले गाउँमै विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरबाट नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताए । फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले यस्ता स्वास्थ्य सेवा अभियान निरन्तर सञ्चालन गरिँदै आएको जानकारी दिए ।
शिविरमा उपचार गर्न आएका अर्जुनचौपारी–३ का ७७ वर्षीय दयाराम शर्माले काठमाडौँ गएर गर्नुपर्ने मुटुको उपचार गाउँमै निःशुल्क पाउँदा समय र खर्च दुवै बचेको बताए । यस्तै, वडा नं–२ की ७० वर्षीया नन्दकली थापाले सामान्यदेखि जटिल रोगसम्मको जाँच गाउँमै पाउँदा समयमै रोग पत्ता लागेको र अस्पताल धाउनुपर्ने झन्झट नहुँदा सहज भएको अनुभव सुनाइन् ।
शिविरमा अर्जुनचौपारीसहित पुतलीबजार नगरपालिका–१३, भीरकोट–७ र पर्वतको महाशीलाबाट आएका बिरामीले पनि सेवा लिएका थिए । मुटुरोग विशेषज्ञ चन्द्रबहादुर पुनको नेतृत्वमा नौ जना विशेषज्ञ चिकित्सक, १५ जना अन्य चिकित्सक, १० जना प्राविधिक तथा गण्डकी मेडिकल कलेज र गाउँपालिकाका २१ जना स्वास्थ्यकर्मीसहित ५५ जनाको टोलीले सेवा प्रदान गरेको र यस्ता रचनात्मक तथा राहत मूलक कार्यक्रमहरू हरेक वर्ष गर्दै आएको फाउन्डेसनले जनाएको छ ।
सम्बन्धित खबर
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ