काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाएसँगै जेन–जी अभियन्ता तथा अगुवाहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सूची समावेशी प्रतिनिधित्वको संवैधानिक मर्मविपरीत तयार पारिएको भन्दै उनीहरूले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।
रास्वपाको समानुपातिक सूची समावेशी सिद्धान्तअनुसार नभई पार्टी नेतृत्वनिकट, पहुँचवाला र ‘नेपो किड्स’को पक्षमा झुकेको भन्दै जेन–जी अगुवाहरू माजिद अन्सारी, तनुजा पाण्डे, भावना राउत, रक्षा बम, अदित्य कर्णलगायतले आलोचना गरेका छन् ।
माजिद अन्सारीले सूचीमा चितवनबाट २१ जना उम्मेदवार सिफारिस भएको देखिए पनि थारु नसमेटिएको भन्दै आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘मैले २१ भित्र १ जना भए पनि चितवनको रैथाने थारु खोजिरहेँ, अहँ एक जना पनि भेटिएन । मोरङबाट १५ जना उम्मेदवार सिफारिस हुँदा पनि कोच (राजवंशी), गन्गाई, सन्थाल खोजिरहेँ, अहँ १ जना पनि भेटिएन ।’
संविधानको धारा ४२ र ८४ तथा निर्वाचन ऐन २०७४ ले सुनिश्चित गरेको सामाजिक न्यायको हकमाथि ‘रणनीतिक र निर्णायक धोका’ भएको उनको टिप्पणी छ । ‘नेपालको संविधानको धारा ८४ लेखिरहँदा संविधानको धारा ४२ को “आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि परेका अन्य समावेशी समूह’ र ‘आर्थिक रूपमा विपन्न खस आर्य’ को संविधानप्रदत्त सामाजिक न्यायको मौलिक हकमाथि पहिलो र रणनीतिक धोका भयो,’ उनले लेखेका छन्, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २८ र अनुसूची–१ लेखिरहँदा दोस्रो र निर्णायक धोका भयो ।’
यस्तै तनुजा पाण्डेले समानुपातिक प्रणाली ऐतिहासिक संघर्ष र बलिदानबाट स्थापित भएको भन्दै त्यसलाई पैसा, नाम वा शक्ति आर्जनको माध्यम बनाउन नहुने उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘निर्वाचन प्रणालीको मूल भावना उल्लङ्घन गर्दै पार्टीगत लाभका लागि अनैतिक रूपमा संसदमा आउनु अस्वीकार्य छ ।’
पुराना दललेजस्तै नयाँ पार्टीले पनि त्यही प्रवृत्ति दोहोर्याएकोमा उनले दुःख व्यक्त गरेकी छन् । ‘हिजो आरजु देउवा राणा जस्ता व्यक्तिहरू समानुपातिकबाट संसदमा आउँदा लज्जास्पद थियो, र आजका केही नयाँ भनिएका पार्टीहरूले त्यही प्रवृत्ति दोहोर्याउँदै समानुपातिकको मूल भावनालाई कमजोर पार्नु दुःखद छ,’ तनुजाले लेखेकी छन्, ‘यदि पुराना वा नयाँ भनिएका पार्टीहरूले समानुपातिक सूचीमा लोकप्रियता, पहुँच र चिनजानलाई प्राथमिकता दिन्छन् भने, पुरानो र नयाँ पार्टीमा कुनै फरक रहँदैन ।’
अर्की जेन–जी अगुवा भावना राउतले समानुपातिक सूची सच्याउनुपर्ने मत राखेकी छन् । ‘यो समानुपातिक सूची सच्याइएन भने हाम्रो निर्णय स्पष्ट छ-प्रत्यक्षमा उम्मेदवार हेरेर भोट हालिन्छ, अनि समानुपातिकमा कुनै पनि पार्टीलाई अन्धाधुन्ध समर्थन गरिँदैन,’ उनले लेखेकी छन् ।
रास्वपाप्रति शुभेच्छा राख्दै अन्धाधुन्ध बन्न नसक्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘म चाहन्छु रास्वपा ठूलो पार्टी बनोस्, बालेन प्रधानमन्त्री बनून्, पार्टीले बहुमत पाओस् । तर नैतिक मूल्य साटेर, गलतलाई सही ठानेर, जिउँदो लासजस्तै अन्धसमर्थक बन्न म सक्दिनँ । समर्थन गर्न म पहिलो पंक्तिमा उभिन्छु, तर प्रश्न गर्न, आलोचना गर्न र जवाफदेही बनाउन पनि म पहिलो पंक्तिमै उभिन्छु-यो मेरो प्रतिबद्धता हो ।’
त्यस्तै जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भएको लेखेकी छन् । ‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो ।
निश्चित वर्गको हालिमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो,’ उनले लेखेकी छन्, ‘हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन् । आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन् । र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो ।’
यस्तै अर्का जेन–जी अगुवा अदित्य कर्णले सटिक आक्रोश पोख्दै ‘जनताले विकल्प खोजेको पुरानै गल्ती दोहोर्याउनका लागि थिएन, महोदय !’ लेखेका छन् ।
रास्वपाको समानुपातिक सूचीलाई लिएर जेन–जी अगुवा मात्र असन्तुष्ट छैनन् । समानुपातिक सूचीमै परेका रामजी रामले पार्टीभित्रको प्राइमरी अभ्यासको औचित्यमाथि प्रश्न उठाउँदै लेखेका छन्, ‘लोकतन्त्रमा अर्थ मतदाताको मतको हुन्छ । मतअनुसार सूचीमा न्याय भएन भने पार्टी बलियो बन्दैन ।’
दलित क्लस्टरबाट सर्वाधिक मत ल्याएका विजय जैरुजीको नाम सूचीमै नदेखिनुमा उनले लज्जाबोध व्यक्त गर्दै भनेका छन्, ‘मेरो नाम त्यहाँ हुनु र उहाँको नाम सूचीमै नहुनुले मलाई लज्जाबोध भयो । आवश्यक परे म फरक भूमिकाबाट खबरदारी गर्छु, मेरो नाम हटाइयोस्,’ उनले लेखेका छन् ।
त्यस्तै सामाजिक अभियन्ता आशिका तामाङले पनि सूचीमा पहुँचवाला र नेतृत्वनिकटलाई प्राथमिकता दिइँदा ‘निमुखा वर्गका लागि सुरक्षित कोटा मिस नेपाल, ठेकेदारका छोराछोरी, आसेपासे र स्कुले साथीका लागि अवसर केन्द्र बनेको’ लेखेकी छन् । ‘नेपो–किड्सविरुद्ध ७३ जेन–जीले राज्यलाई दिएको आहुति यही दिन देख्नका लागि थियो ?’ उनले प्रश्न गरेकी छन् ।
सम्बन्धित खबर
जेन-जीले रास्वपाको समानुपातिक सूचीप्रति आपत्ति जनाउँदै भने: ‘नयाँले पनि पुरानै गल्ती दोहोर्यायो’
हर्कले फेरी भने- हुतिहाराहरू एक्लै लड्न सकेनन्, जमानत जफत हुन्छ
बालेन र कुलमानलाई साथमा राखेर रवि र अनुपकुमारले गरे सात बुँदे सहमति
कुलमान घिसिङलाई रास्वपा उपसभापति बनाउन रवि तयार, बालेन तेस्रो वरियतामा
रवि-बालेन सहमतिपछि हर्क साम्पाङको कटाक्ष : ५ घण्टामा ३ दर्जन स्टाटस
नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्नु हुन्नः महेश बस्नेत
यो पनि पढौँ
कुलमान घिसिङलाई रास्वपा उपसभापति बनाउन रवि तयार, बालेन तेस्रो वरियतामा
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नुपर्छः प्रदेश प्रमुख भट्ट
तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना