काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजीनामा दिए । तर, अन्तिम दिनमा मेयर बालेन र उपमेयर सुनिता डंगोलको भेट नै भएन ।
बालेनले आइतबार राजीनामा दिन्छन् वा दिँदैनन् भन्नेमै अन्योल थियो । उनले सुनितालाई केही पनि नबताएको बुझिन्छ ।
स्रोतका अनुसार मेयर बालेनको सचिवालयले उपमेयरलाई राजीनामापत्र बुझाएका थिए । बालेनले उपमेयरसँग भेट नगरेको बुझिएको छ ।
अचानक राजीनामापत्र सामाजिक सञ्जालमा आएपछि उपमेयर सुनिताले नगर कार्यपालिकाको बैठक डाकिन् । कार्यवाहक मेयरको भूमिकामा रहेकीले बालेनलाई धन्यवाद ज्ञापनका लागि बैठक राखेकी हुन् ।
आकस्मिकरूपमा बोलाइएको बोर्ड बैठकमा डंगोलले महानगर प्रमुख साहको राजीनामा आएको अवगत गराएकी थिइन् । बैठकले साहलाई अहिलेसम्मको कार्यसम्पादनका लागि धन्यवाद ज्ञापन गरेको छ । अरु एजेन्डा नभएकाले बैठक केही मिनेटमै सकियो ।
अपर्झट राजीनामापत्र आएकाले मेयरको बिदाइमा कुनै कार्यक्रम हुन सकेन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, उपमेयर सुनिता डंगोल लगायतले मेयर बालेनलाई आइतबार बिदाइ गर्ने योजना बनाएका थिए ।
‘आज हामी उहाँलाई बिदाइ गर्न तयार थियौं । यत्रो समय सँगै काम गरेपछि बिदाइ गर्नु स्वाभाविक थियो,’ महानगरका एक कर्मचारीले भने, ‘तर उहाँ आउनुभएन । सायद भ्याउनुभएन होला ।’
आइतबार बिहानबाटै मेयरको बिदाइ गर्न चाहेका उनीहरूले आवश्यक तयारी गरिसकेका थिए । उपमेयर डंगोलले त जति जना भइन्छ, त्यतिले भए पनि औपचारिक बिदाइ गर्नुपर्ने बताएकी थिइन् ।
महानगर स्रोतका अनुसार उनीहरूले मेयरलाई पटक-पटक फोन पनि गरेका थिए । ‘बिदाइको तयारी के गरौँ’ भन्दा तत्कालीन मेयर शाहले ‘पछि भन्छु’ भनिरहे । यद्यपि, निर्णय जे पनि आउन सक्ने भएकाले आफ्नो तयारी गरिरहे । बिदाइको लागि दिनभर बालेनलाई कुरेर बसे ।
तर, यहीबीचमा मेयरले राजीनामा तत्काल नदिने मनस्थिति बनाएको समाचार आयो । बालेन निकट एक नेताका अनुसार कांग्रेस अदालत गएको अवस्थामा चुनाव सर्न सक्ने लगायतका अनुमानका कारण राजीनामा दिन हतार नगर्ने उनको सोच थियो । यदि तोकिएकै समयमा भए पनि उम्मेदवारी दर्ता गरेपछि सम्भवत: मेयर पद खारेज हुने सल्लाहपछि उनको राजीनामा होल्ड गरियो ।
‘तर, पछि थप सल्लाह उहाँले गर्नुभयो । अनि के भयो, एकाएक राजीनामा दिएरै घण्टीघर जाने सोच बनाउनुभयो,’ बालेन स्रोतले भन्यो ।
यसरी बालेनले पुन: एकाएक राजीनामा दिने सोच बनाए र घण्टीघर पुगे । सचिवालयमार्फत उपमेयर सुनिता डंगोलसामु राजीनामा बुझाए । तर आइतबार बिहानदेखि बिदाइ गर्न कुरिरहेको महानगर टिम खिन्न बन्दै उनको राजीनामा वारेसमार्फत लिन बाध्य बन्यो । कार्यक्रम स्थगित गर्नुपर्यो । महानगरबाट औपचारिक बिदाइ हुन नभ्याएका बालेन घण्टीघरमा भने रवि लामिछानेबाट औपचारिक स्वागत लिन भ्याए ।
‘उहाँले भेट गरेर अहिलेसम्मको कामकारबाहीको बुझबुझारथ गर्नुहुने अपेक्षा थियो, तर उहाँहरूको भेट नै भएन,’ उपमेयर निकट स्रोतले भन्यो, ‘राजीनामा पनि सचिवालयका साथीहरूबाट आयो ।’
बालेन राजीनामा पठाएलगत्तै रास्वपा कार्यालय गएका थिए । त्यहाँ करिब १० मिनेट बिताएर अहिले उनी जनकपुर प्रस्थान गरेका छन् । झापा ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका बालेनको चुनावी अभियान अब सुरू भएको छ ।
सम्बन्धित खबर
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेनजी फ्रन्टको माग
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस