वालिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ १४ गतेदेखि २५ गतेसम्म हुन लागेको वालिङ महोत्सवमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता समावेश गरिने भएको छ । वालिङ भलिबल क्लबको समन्वयमा माघ १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता महोत्सवको मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ ।
वालिङ खेल मैदानमा सञ्चालन हुने नवौं वालिङ महोत्सवअन्तर्गत हुने प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय पुरस्कार एक लाख, तृतीय पुरस्कार पचास हजार तथा सान्त्वना पुरस्कार पच्चीस हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । साथै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागततर्फ बेष्ट स्पाइकर, बेष्ट सेटर, मिडल ब्लकर, बेष्ट डिफेन्डर र बेष्ट सर्भरलाई जनही पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
खेल प्रचलित भलिबल नियमअनुसार राउण्ड रोबिन प्रणालीमा खेलाइनेछ । प्रतियोगितामा पालिकाबाहिरका राष्ट्रिय स्तरका बढीमा तीन जना खेलाडी र एक जना लिबेरो खेलाडी समावेश गर्न पाइनेछ । प्रतियोगिताको टाइसिट माघ १७ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
महोत्सवलाई थप आकर्षक र जीवन्त बनाउन अन्तर पालिका स्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताउँदै महोत्सव मूल आयोजक समितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले प्रतियोगिताले स्थानीय खेलकुद प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको जानकारी दिए ।
जिल्ला भलिबल सङ्घ स्याङ्जा तथा जिल्ला खेलकुद विकास समिति स्याङ्जाको सहकार्यमा आयोजना हुने प्रतियोगितामा विभिन्न स्थानीय तहका टिमहरू सहभागी गराउने तयारी भइरहेको आयोजकले जनाएको छ ।
महोत्सवको मुख्य उद्देश्य स्याङ्जा जिल्लाको सांस्कृतिक, पर्यटन तथा औद्योगिक सम्भावनाको प्रवद्र्धन गर्नुका साथै खेलकुदमार्फत युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्नु रहेको उद्योग वाणिज्य सङ्घ वालिङले जनाएको छ । महोत्सव अवधिभर स्याङ्जा डान्स आइडल सिजन–४, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स, टिकटक, लोकदोहोरी प्रतियोगिता, भजन तथा रत्यौली प्रस्तुति, रमाइलो मेला लगायतका कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् ।
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने यस महोत्सवमार्फत विभिन्न जातजातिको भेषभूषा, कला तथा संस्कृति, पशुपंक्षी प्रदर्शनी, सुन्तला, ताजा तरकारी, कफी, अदुवा तथा जडिबुटी प्रदर्शनी एवं शैक्षिक प्रदर्शनीअन्तर्गत विद्यार्थीका नवीन आविष्कार, पुस्तक प्रदर्शनी र शैक्षिक सामग्री, लघु, घरेलु, कृषि, वन तथा पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापनलाई प्राथमिकता दिइने छ । साथै जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने लक्ष्य रहेको वालिङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा