स्याङ्जा जिल्लाका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यसहित ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन हुने भएको छ । फागुन ४ र ५ गते दुई दिन चल्ने अभियानमार्फत जिल्लाभरका १ हजार ७ सय ९१ किशोरीलाई खोप लगाइने छ ।
जिल्लाका ९७ वडामा रहेका २ सय ३४ विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने तयारी गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । खोप पूर्ण रूपमा सुरक्षित रहेको उल्लेख गर्दै कार्यालय प्रमुख रामबहादुर नेपालीले अभिभावक र किशोरीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् ।
खोप अभियानका क्रममा निजी तथा सामुदायिक दुवै खालका विद्यालयमै खोप केन्द्र स्थापना गरिने छ । यससँगै अघिल्लो वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि समेटिने जनाइएको छ । जिल्लामा अभियान एकै चरणमा सञ्चालन हुनेछ ।
अभियानलाई प्रभावकारी बनाउन २ सय ३४ स्वास्थ्यकर्मी र त्यत्तिकै संख्यामा स्वयंसेवक परिचालन गरिने छ । महिलाको शारीरिक तथा प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस अभियान सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको सूचना अधिकारी विनोदप्रसाद भट्टले बताए । उनले पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगविरुद्ध सचेत रहँदै कोही पनि खोपबाट वञ्चित नहुनुपर्नेमा जोड दिए । अभियानमा छुटेकालाई थप एक सातासम्म समेट्ने व्यवस्था गरिने पनि जानकारी दिए ।
जिल्ला खोप समन्वय समितिका संयोजक मनिषकुमार महतोका अनुसार अभियानअघि नै प्रचारप्रसारलाई तीव्र बनाइएको छ, ताकि कुनै अवरोध नआओस् । उनले खोप सुरक्षित भएकाले भ्रामक सूचनामा नपर्न सबैलाई आग्रह गरे । ११ वटै पालिकामा वडास्तरमै खोप सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यस वर्ष फागुन ४ र ५ गते पुतलीबजारमा २ सय ९५, वालिङमा ४ सय ४, भीरकोटमा १ सय ६९, गल्याङमा २ सय १, चापाकोटमा १ सय ६२, फेदीखोलामा १ सय ३, आँधीखोलामा ८६, अर्जुनचौपारीमा १ सय ९, बिरुवामा ७२, हरीनासमा ८० र कालीगण्डकीमा १ सय १० किशोरीलाई खोप लगाइने छ । तीमध्ये १ हजार ७ सय ९० जना विद्यालय जाने किशोरी हुन् भने अर्जुनचौपारीमा १ जना विद्यालय नजाने किशोरी रहेको कार्यालयले जनाएको छ ।
गत वर्ष मात्रै स्याङ्जामा ९ हजार ५ सय ५ जनालाई एचपिभी खोप लगाइएको तथ्यांक छ ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो