पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा पोखरा कार्यालयले आयोजना गरेको विशेष समारोहमा प्रमुख अतिथि भट्टले यस्तो बताएका हुन् ।
राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ–आफ्नो तहबाट भ्रष्टाचार न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरुरी रहेको उनले उल्लेख गरे ।
‘सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउन आवश्यक छ ।’ उनले भने – ‘शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्दछ ।’
अहिलेको समयमा भ्रष्टाचारको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएकोले अनुसन्धानको विषयमा देखिएका नयाँ चुनौतीहरूलाई सामना गर्न आयोग तथा मातहतका कार्यालयहरू सशक्त भई आफ्नो कार्यपद्धतिलाई रचनात्मक बनाउनुपर्ने पनि उनको सुझाव थियो ।
यसका लागि उपलब्ध साधन स्रोतको सीमामा रहेर उच्चतम प्रविधिको प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरेर व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिए ।
‘सरकारी कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व हो । आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्नेछैन भन्नेमा म विश्वस्त छु ।’ उनले भने ।
हालको परिवेशमा राज्यका निकायहरूबाट भइरहेको काम कारबाहीलाई नियाल्दा सेवा प्रवाहमा हुनुपर्ने सहजता र विकास निर्माण प्रक्रियामा जनतालाई गराउनुपर्ने सहभागिताको कमी देखिएको बताउँदै उनले भ्रष्टाचारको प्रवृत्ति हेर्ने हो भने पूर्वाधार, शिक्षा, स्वास्थ्य, भूमि प्रशासन, कृषि लगायतको क्षेत्रमा जनताको बढी गुनासो देखिएको बताए ।
‘भ्रष्टाचार विरुद्धको लडाई सबैको साझा लडाई हो । आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण छ ।’ उनले भने – ‘मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेको भन्ने मेरो बुझाई छ ।’
आयोगले नेपालको संविधान एवं प्रचलित कानुनको अधिनमा रहेर भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धनमा गरेको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उनले स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको निकायका रुपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।



सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
हेमजामा आलु महोत्सव सुरु, पोखरालाई ब्रान्डिङ गर्न सघाउने अपेक्षा
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी