काठमाडौँ — कांग्रेसले आज १० बुँदे संक्षिप्त प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । जसमा सम्मानित भएर बाँच्ने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वभाविमानी नेपाल र समुन्नतिमा लम्कने नेपाल बुँदा समावेश छन् ।
जात, धर्म, वर्ण, लिंग, वर्ग वा भूगोलको आधारमा सृजना भएका छुवाछुत, विभेद र अवरोधलाई भत्काउने संकल्प कांग्रेसले गरेको छ । यस्तै, विदेशिएका नेपालीलाई फर्कन रहर लाग्ने र स्वदेशमा रहेकालाई यहीँ सुनौलो भविष्य देखिने जीवन्त देश बनाउने, राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्ने तर अवैध तरिकाले सम्पति थुपार्ने र उपभोग गर्ने प्रवृतिलाई निर्ममतापूर्वक नियन्त्रण गर्ने संकल्प गरेको छ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृति कै रुपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ ।
राज्यले सिंचाई र रासायनिक मलको अभाव अन्त्य गर्दै, बिमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्ने र नेपालको उत्पादनलाई विश्व बजारमा ब्राण्ड बनाउने कृषि उद्यमीलाई राज्यले हरेक पाइलामा साथ दिने नीति बनाउने कांग्रेसको प्रतिबद्धता छ ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा राज्यले परोपकार नभएर उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यतालाई स्थापित गर्ने उद्घोष गरेको छ । ‘नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ, विकसित देशको उन्नत स्तरको उन्नत स्वास्थ्य बिमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ,’ कांग्रेसको सार्वजनिक प्रतिज्ञापत्रमा भनिएको छ ।
आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट बन्चित नहुने, निमुखालाई ऐन र ठुलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य गर्ने, अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालयलगायतका राज्यका सब संस्थाहरूमा दलीयकरण अन्त्य गर्ने, राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटिल नेपालको अवधारणा साकार पार्ने, नेपालका सबै विविधिता र विशिष्टताहरूको सम्मान गर्ने कांग्रेसको संकल्प छ ।
छिमिकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुने र यस्तो सम्मानलाई पारस्परिक हित र आर्थिक साझेदारीको आधारमा अगाडि बढाउने कांग्रेसको प्रतिज्ञा छ । खुला अर्थतन्त्र, प्रतिस्पर्धी, प्रविधिमैत्री र पर्यावरणमैत्री विकासबाट हिमाल, नदी, वनजंगल र जस्ता अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित राख्ने र देश निर्माणको अभियानमा सबै जात, जाति, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक सहभागिता गराउने प्रतिज्ञा कांग्रेसको छ ।
कांग्रेसले भोलिको उज्यालो नेपालको खाका तयार पारिसक्यो : गगन थापा
कांग्रेस सभापति गगन थापाले भदौ २३ मा जस्तो अब देशमा युवा मारिनु नपर्ने र भदौ २४ गतेजस्तो सिंहदरबार जल्नु नपर्ने कांग्रेसको प्रतिज्ञा रहेको बताएका छन् । देशमा देखिएका समस्याको हल निकाल्दै कांग्रेसले भोलिको उज्यालो नेपालका लागि खाका तयार पारिसकेको बताए ।
‘भदौ २३ र २४ गतेको विद्रोहले हामीलाई इन्कार गरेको होइन । बदलिएर आऊ भनेको हो । कांग्रेस बदलिएर आएको छ,’ जनकपुरको तिरहुतिया गाछीमा बुधबार आयोजना गरिएको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले भने,‘अब ठूलालाई चैन र सानालाई ऐनको अध्याय सकिएको छ । किसानलाई खाद(मल) लिन अब लाइन बस्नुपर्दैन । लाइसेन्स लिन घुस दिनुपर्दैन, त्यो हाम्रो प्रतिज्ञा हो ।’
मधेश प्रदेशका ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारसमेत उपस्थित रहेको प्रतिज्ञा सभामा थापाले विगतमा थुप्रै काम भए पनि भएका गल्ती सच्याउन कांग्रेस तयार रहेको बताए । ‘अब प्रश्न गर्दा कुनै युवा भदौ २३ गतेको जस्तो राज्यको गोलीबाट मारिनुपर्दैन,’ थापाले भने,‘कसैले नकाव लगाएर सिंहदरबार जलाउन पाउँदैन, यही हो कांग्रेसको प्रतिज्ञा ।’ उनले भदौ २३ र २४ गते सडकमा आएका युवा पुस्ताको भावनालाई कांग्रेसले सम्बोधन गर्ने बताए । ‘जेन-जी भनेर कहीँ कतैबाट आएको होइन । ती हाम्रै भाइ भतिजा हुन्,’ कांग्रेस सभापति थापाले भने,‘हामीलाई इन्कार गरेको होइन । हाम्रो शैली बदल भनेको हो ।’
कांग्रेस सभापति थापाले अबको पाँच वर्षको समय खेर नफाल्ने पनि बताए । उनले सबै राजनीतिक दल र पक्षलाई सम्हालेर कांग्रेसले अबको पाँच वर्ष विकास र परिवर्तनको नेतृत्व लिने बताए । ‘कांग्रेसले अब पाँच वर्षको समय खेर फाल्दैन । कांग्रेसले हिजोको दिनको गौरव गर्छ । तर, हिजोमा अड्किएर बस्दैन । आजको समस्या समाधान गर्छ, भोलिको उज्यालो दिनको नेतृत्व गर्छ,’ उनले भने, ‘कांग्रेसको शक्ति घृणा होइन । प्रेम हो । कांग्रेसको शक्ति निषेध होइन, सबैलाई सहभागी गराउने शक्ति हो ।’
सम्बन्धित खबर
बृद्धभत्ता दिन हामीले सुरु गरेका हौँ: माधव नेपाल
यो चुनावले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला गर्छ: प्रचण्ड
रास्वपा मधेसकी संस्थापक सभापति शर्मा कांग्रेस प्रवेश, भनिन्- त्यहाँ दागैदाग भएकाको बिगबिगी छ
०७९ की उम्मेदवार बनेकी रास्वपाकी संस्थापक सदस्य भु्र्तेलले छाडिन् पार्टी
राष्ट्रिय सहमति गरेर निर्वाचनमा जाँदा उपयुक्त हुन्थ्यो, पहिले समझदारी गरौँ: पूर्वराजा शाह
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, गगन थापा भन्छन्ः कांग्रेसले भोलिको उज्यालो नेपालको खाका तयार पारिसक्यो
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु