नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने सुरूवातमा गर्ने ११ काम सार्वजनिक गरेको छ।
शुक्रबार एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको घोषणापत्रमा एमालेले पहिलो मन्त्रिपरिषद् बैठकबाट समयसिमा तोकेर सम्पन्न गर्ने ११ वटा काम सार्वजनिक गरेको हो।
यस्तो छ एमालेले समय तोकेर गर्ने ११ काम-
१. १० जिबी इन्टरनेट डाटा
१८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
२. युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड
सूचना प्रविधि क्षेत्रमा आईटी/टेक उत्पादनहरूको अनुसन्धान, उत्पाद तथा निर्यात प्रवर्द्धन गर्न र स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैङ्क कार्ड उपलब्ध गराउने घोषणा एमालेले गरेको छ।
यस सुविधाले स्टार्टअप उद्यममा जोडिन चाहने युवाहरूलाई एआई (AI), कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ एप विकास तथा अन्य आईटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाइ १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने घोषणापत्रमा उल्लेख गरेको छ।
एमालेले विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनै पनि प्रकृतिको सेयर खरिद गर्नसक्ने व्यवस्थालाई थप सहज र व्यवस्थ बनाउने घोषणा गरेको छ।
३. वैदेशिक रोजगारीमा रहेकाहरूको खातामा ५ हजार र सामाजिक सुरक्षामा निरन्तरता
वैदेशिक रोजगारीमा गएर देशमा विप्रेषण पठाइरहेका श्रमिकको सम्मानस्वरूप उनीहरूको बैङ्क खातामा वार्षिक ५ हजार थप गरिदिने घोषणा एमालेले गरेको छ। वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता हुने प्रबन्ध गर्ने उसको प्रतिबद्धता छ ।
४. विद्यार्थीलाई २० लाख निर्व्याजी ऋण; पारिश्रमिकसहितको इन्टर्नशीप
प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई रु. २० लाखसम्म निर्व्याजी ऋण उपलब्ध गराउने घोषणा एमालेले गरेको छ।
सरकारी सेवा, निजी क्षेत्रका व्यवसाय र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको प्रबन्ध गर्ने पनि उसको घोषणा छ।
५. सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड, कक्षा १० सम्मका विद्यार्थीलाई खाजा
सबै विद्यालयका किशोरीहरूका लागि निःशुल्क प्याड सहजरूपमा उपलब्ध गराउने एमालेले घोषणा गरेको छ । १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्ने पनि उसको प्रतिबद्धता छ।
६. श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार
श्रमिकहरूको सीप, कौशल र उत्पादकत्व बढाउँदै न्यूनतम मासिक पारिश्रमिक रु २५ हजार पुऱ्याउने उसको घोषणा छ। नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी वा ज्याला रोजगारीमा रहेका सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
७. शिक्षकको मर्यादा र सामाजिक सुरक्षा
एमालेले शिक्षकको मर्यादाक्रम तोक्ने निर्णय गरेको छ। सामुदायिक तथा निजीलगायतका सबै विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
८. स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा
विश्व स्वास्थ्य संगठनले समेत सम्मान गरेका स्वास्थ्य स्वयंसेविकाहरूलाई थप प्रोत्साहित गर्न वार्षिक रूपमा प्रदान गरिंदै आएको भत्ता बढाएर रु २० हजार पुऱ्याउने घोषणा गरेको छ। सबै स्वयंसेविकाहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने उसको प्रतिबद्धता छ।
९. २० लाखसम्म उद्यमी महिला निर्व्याजी ऋण, २० हजार सुत्केरी महिला भत्ता र ५ लाखको निःशुल्क जीवन बीमा
महिला उद्यमशीलता विकास गर्न बैङ्क तथा वित्तीय संस्थामार्फत् २० लाखसम्मको उद्यमी महिला निर्व्याजी ऋण सुविधा सहजढंगले प्रदान गर्ने घोषणा एमालेले गरेको छ। व्यवसाय र ऋणको निःशुल्क बीमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
गर्भवती महिलालाई सुत्केरी हुनुअघि र पछि स्वास्थ्य परीक्षण गर्न प्रदान गरिंदै आएको घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने घोषणा गरेको छ । घट्दो जनसंख्या बृद्धिदरको प्रवृत्ति रोक्न सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता दिने र गर्भवती महिलाका लागि ५ लाखसम्मको जीवन बीमा निःशुल्क गर्ने लगायतका काम समय तोकेर सम्पन्न गर्ने उसको घोषणा छ।
१०. २५ हजारसम्मको ऋण मिनाह, सामाजिक सुरक्षा
राज्यद्वारा गरीब परिवारको रूपमा पहिचान भएका घरपरिवारले बैङ्क तथा वित्तीय संस्थाबाट २०८२ साल भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्नेछौं। यस्ता सबै परिवारलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने संकल्प गरेको छ।
११. सुरक्षाकर्मीको सम्मान र कल्याण
राष्ट्रको सुरक्षा, सार्वभौमिकता र स्थायित्वका लागि जीवन अर्पण गर्ने बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीहरूको सम्मान र कल्याण सुनिश्चित गर्ने घोषणा गर्नेछ। पेशागत मर्यादा, सेवा-सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार तथा सीप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चितता गर्दै उनीहरूको ह र हित संरक्षण गर्ने उसको प्रतिबद्धता छ।
भदौ २३-२४ राज्यविरुद्धको षड्यन्त्र, नयाँ भन्नेहरूको भ्रममा नपरौँ: ओली
नेकपा एमालेका अध्यक्ष ओलीले कांग्रेससँग आफूहरू मिलेर सरकार बनाएकै कारणले भदौ २३ र २४ गतेको दुर्घटना नभएको जिकिर गरे । प्रमुख पार्टीहरू मिलेर सरकार बनाएकोले विकल्पहीन अवस्था सिर्जना भएको भन्ने भाष्य गलत भएको बताए।
उनले भने, ‘हामीले बुझ्नुपर्छ– ठुला पार्टीहरू मिलेकै कारण दुर्घटना भएको होइन, उनीहरूबिचको एकता फुटाउन– भत्काउनका लागि दुर्घटना गराइएको हो। संवैधानिक प्रक्रियाबाट सरकार ढाल्ने र अस्थिरताको चक्रनिरन्तर सञ्चालन गरिरहने सम्भावना नभएपछि नयाँ ढङ्गको षड्यन्त्र सुरु भएको हो।’
मौकाको पर्खाइमा रहेको अस्थिरताको उत्प्रेरकलाई सर्वोच्च अदालतको आदेशअनुसार सरकारले सामाजिक सञ्जाल नियमनका लागि दर्ता हुन नआउने प्लेटफर्महरू बन्द गर्ने निर्णय गर्नासाथ बहाना मिलेको उल्लेख छ। उनले भदौ २३/२४ को भयानक घटनालाई राज्यविरुद्धको एक गम्भीर षड्यन्त्रको रूपमा अर्थ्याएका छन्। उनले अहिले नयाँ कि पुरानो’ को असान्दर्भिक भाष्य खडा गर्ने प्रयत्न भइरहेको बताए।
उनले भने, ‘आम मतदातालाई जानकारी नै छ, आज नयाँ भनिएका कोही पनि नयाँ हैनन्। भ्रममा पर्न हुन्न, नयाँ भनिने समेत कोही पनि परीक्षण हुन बाँकी छैनन् । चर्चामा रहेका पात्रहरूले स्थानीय होस् कि सङ्घीय सरकार, त्यसमा सहभागी भई आफ्नो क्षमता र हैसियत’ देखाइसकेका छन् ।’
एमालेका विगतका आफ्ना कामका अभिलेख नै रहेको जिकिर गर्दै आन्दोलनमा मात्रै होइन नीति सुशासन र विकास निर्माणमा समेत आफूलाई नेता साबित गरेको बताए।
उनले भने, ‘हाम्रो कार्यशैली प्रमाणित छ– लक्ष्य तोकेर अघि बढ्ने, जे थालिन्छ, सम्पन्न गर्ने। जे बोलिन्छ, पूरा गर्ने ! त्यसैले हामी, सरकारको नेतृत्व लिनासाथ कामको लक्ष्य निर्धारण गर्छौँ, सम्पन्न गर्ने समयसीमा तोक्छौँ र काम थाल्छौँ । प्रधानमन्त्रीसँग मन्त्रीले, मन्त्रीसँग सचिवले र सचिवसँग सहसचिवले क्रमशः माथिल्लो तहका कार्यकारीले आफ्नो मातहतकासँग कार्यसम्पादन करार गरेर काम थाल्छौँ ।’
सम्बन्धित खबर
एमाले नेतृत्वमा सरकार बनेपछि समयसीमा तोकेर ११ काम सम्पन्न गरिहाल्ने
बृद्धभत्ता दिन हामीले सुरु गरेका हौँ: माधव नेपाल
यो चुनावले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला गर्छ: प्रचण्ड
रास्वपा मधेसकी संस्थापक सभापति शर्मा कांग्रेस प्रवेश, भनिन्- त्यहाँ दागैदाग भएकाको बिगबिगी छ
०७९ की उम्मेदवार बनेकी रास्वपाकी संस्थापक सदस्य भु्र्तेलले छाडिन् पार्टी
राष्ट्रिय सहमति गरेर निर्वाचनमा जाँदा उपयुक्त हुन्थ्यो, पहिले समझदारी गरौँ: पूर्वराजा शाह
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु