रास्वपाको वाचापत्र कर्णालीबाट सार्वजनिक, दोहोरो नागरिकताको पक्षमा उभिने, सांसद मन्त्री हुन नपाउने [पूर्णपाठ]

राजनीति

रास्वपाको वाचापत्र कर्णालीबाट सार्वजनिक, दोहोरो नागरिकताको पक्षमा उभिने, सांसद मन्त्री हुन नपाउने [पूर्णपाठ]

प्रत्यक्ष निर्वाचित कार्यकारी

raswapa

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी दोहोरो नागरिकताको पक्षमा उभिएको छ । कर्णालीको राजधानी सुर्खेतबाट बिहीबार सार्वजनिक आगामी प्रतिनिधिसभा चुनावी वाचापत्रमा रास्वपा दोहोरो नागरिकताको पक्षमा उभिने लेखिएको छ ।

रास्वपाको वाचापत्रको बुँदा नम्बर ९९ मा लेखिएको छ, ‘रास्वपाले प्रवासका नेपालीहरूलाई देशको आर्थिक रूपान्तरणको मुख्य आधार स्तम्भको रूपमा हेर्दछ । विदेशमा रहेका नेपालीहरूका लागि मतदानको अधिकार प्रदान गर्नुको साथै गैरआवासीय नेपालीहरूको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरूलाई तत्काल अन्त्य गर्नेछौं ।’

रास्वपाले गैरआवासीय नेपालीलाई नेपालमा लगानीका लागि सहज वातावरण बनाउने वाचा पनि गरेको छ । ‘गैरआवासीय नेपालीहरूको पुँजीलाई नेपालका ठूला पूर्वाधार र नवप्रवर्तनमा लगानी गर्नका लागि विशेष कानुनी सुरक्षा, ‘डलर खाता’ को सहजता, र प्रतिफललाई सहज फिर्ता लान सक्ने कानुनी प्रावधान बनाउनेछौं । प्रवासमा रहेको उच्च तहको ज्ञान, सीप र प्रविधिलाई स्वदेशको शिक्षा, स्वास्थ्य र उद्योगसँग प्रत्यक्ष जोड्ने ‘राष्ट्रिय ज्ञान ‘बैंक’ स्थापना गर्नेछौं,’ रास्वपाको वाचापत्रमा लेखिएको छ, ‘संसारको जुनसुकै कुनामा रहेका नेपालीहरूले नेपालको पर्यटन, संस्कृति र लगानीको प्रवर्द्धन गर्ने ‘स्वयंसेवी दूत’ को रूपमा काम गर्ने वातावरण र संयन्त्र बनाउनेछौं । प्रवास मार्फत नेपाली भाषा, कला र मौलिक पहिचानलाई विश्वका प्रमुख सहरहरूमा जीवन्त रूपमा फैलाइएको हुनेछ, जसले नेपालको ‘सफ्ट पावर’ लाई मजबुत बनाएको हुनेछ ।’

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेलगायत नेताहरूले वाचापत्र सार्वजनिक गरेका हुन् । रास्वपाको वाचापत्र लेखनका लागि उपसभापति वाग्लेको नेतृत्वमा समिति गठन गरिएको थियो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री हुन नपाउने

रास्वपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्ने घोषणा गरेको छ। साथै पूर्ण समानुपातिक संसदीय व्यवस्था र सांसद मन्त्री नहुने व्यवस्था र गैरदलीय स्थानीय सरकारजस्ता एजेण्डासहित संविधान संशोधनका लागि राष्ट्रिय बहस थाल्ने वाचा गरेको छ।

सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्ने गरी कार्यविधि बनाउने घोषणासमेत रास्वपाले गरेको छ।

सरकारी सेवामा दलगत आबद्धता अन्त्य गर्ने, भ्रातृ संगठन नबनाउने र निजामती प्रशासनलाई ‘थोरैले धेरै सेवा दिने’, तटस्थ संरचनामा रूपान्तरण गर्ने योजनासमेत समावेश गरेको छ।

यस्तै, वाचापत्रमा पार्टीले सरकारी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजानुका साथै राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत डाटाबेस निर्माण गर्ने र ‘डिजिटल सर्भिस डेलिभरी‘ समयबद्ध रूपमा लागू गर्ने योजना अघि सारेको छ। फाइल प्रक्रियामा समयसीमा तोकी ढिलाइ भए स्वतः स्वीकृति वा जबाफदेही बनाउने प्रणाली लागु गर्ने वाचा समेत रास्वपाले गरेको छ।

 पूर्णपाठ पढ्न यहाँ क्लीक

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ