सिंहदरबारमा आगो झोस्नेको टुंगो लागेपछि चुनावमा जान पाइयोस् भन्ने चाहन्थ्यौँ: गगन थापा

राजनीति

सिंहदरबारमा आगो झोस्नेको टुंगो लागेपछि चुनावमा जान पाइयोस् भन्ने चाहन्थ्यौँ: गगन थापा

'गठबन्धनको दूषित राजनीति गर्दैनौं, विगतका त्रुटिलाई सच्याउँछौं'

gagan-thapa-5-e1771502460974

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनकमा गोली चलाउने दोषीहरूसँगै संसद् सिंहदरबार, शीतलनिवास, सर्वोच्च चलाउनेहरूको पनि यकिन गरेर चुनावमा जाने चाहना रहेको बताएका छन् ।

त्यो चाहना पूरा नहुँदै चुनाव हुने भएकाले यही अवस्थामा चुनावमा जान बाध्य भएको बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित भिजन–१० प्रतिज्ञा पत्रका विषयमा प्रश्नोत्तरमा सहभागी भएका थापाले यस्तो बताएका हुन् ।

राष्ट्रिय सम्पत्तिमा आगो झोस्नेहरू दूधको दूध पानीको पानी छुट्याएर चुनावमा गएको भए धेरै कुरा चुनावले नै फैसला गर्ने बताए ।

जेनजी आन्दोलनका विषयमा छानबिन गर्न गठित कार्की आयोग विगतका रायमाझी, मालिक र लाल आयोगको जस्तै हुने त होइन भन्दै अभियन्ता माझी ताम्सरीले प्रश्न सोधेकी थिइन् ।

“हामी त चाहन्थ्यौँ जेनजी आन्दोलन दमन गर्न कसले दबाब सिर्जना गर्‍यो र धेरैजना नौजवानले ज्यान गुमाउने अवस्था आयो, त्यो पनि सार्वजनिक होस्,” थापाले भने, “संसद् भवन, सिंहदरबार सर्वोच्च अदालतसहितमा आगो झोस्नेहरूको विषयमा पनि दूधको दूध पानीको पानी छुट्याएर चुनावमा जान पाइयोस् भन्ने हाम्रो इच्छा थियो । तर, नटुंगिँदै चुनावमा जानुपर्‍यो ।”

सभापति थापाले विकासमा रहेका अवरोध हटाउन धेरैवटा ४१ कानुन संशोधन आवश्यक रहेको पनि बताए ।

‘गठबन्धनको दूषित राजनीति गर्दैनौं, विगतका त्रुटिलाई सच्याउँछौं’

थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताए ।

 थापाले पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्ने वेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए ।

‘बदलिएर आएको कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौँ,’  उनले भने,  ‘हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ ।’

सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने उनको प्रतिज्ञा छ ।

‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा हुँदैन हुन दिदैनौँ । यो बदलिएको कांग्रेसको संकल्प हो,’ सभापति थापाले भने ।

उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने विश्वास दिलाएका छन् ।

जेनजी आन्दोलनमा गल्ती भएको स्वीकार गर्दै लिए जिम्मेवारी

थापाले गत भदौमा भएको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताए।

जेन–जी विद्रोहको समयमा आफूहरू सरकारको सहयात्री रहेको भन्दै कमजोरीको जिम्मा लिन कांग्रेस तयार रहेको उनको भनाइ छ । थापाले आन्दोलनका क्रममा ज्यान गुमाएका आफन्तहरुसँग क्षमा पनि मागे ।

सभापति थापाले २००७, २०४६ र २०६३/६४ सालका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलनप्रति पार्टीले गौरव गर्दै आएको बताए। सभापति थापाले भदौ २३ र २४ गते युवाहरूले उठाएका मागहरू सम्बोधन गर्न सकेमात्र त्यसप्रति गौरव गर्न सकिने भन्दै उनले जेनजी युवाको भावनाअनुसार पार्टी अगाडि बढ्ने याचना गरे।

थापाले भने, ‘भदौ २३ गते सरकारको तर्फबाट गल्ति भएकै हो । हामी पनि त्यो समय सरकारमा थियौँ । आफ्नो कमजोरीको जिम्मा हामीले लिनुपर्छ । हामी लिन्छौँ । हामी त्यो आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुसँग क्षमा माग्छौँ । हामी २००७, २०४६, २०६३/६४ सालको आन्दोलनको गौरव गर्छौ । भदौ २३ र २४ मा जुन माग लिएर युवाहरु आन्दोलनमा आए । ती मागहरु पूरा गर्नसके मात्र हामी त्यसप्रति गौरव गछौ। ’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ