काठमाडौंबाट सुकुमबासी खेद्ने, झापा पुगेर सुकुमबासीकै पक्षमा छु भन्ने ?: वर्षमान पुन

राजनीति

काठमाडौंबाट सुकुमबासी खेद्ने, झापा पुगेर सुकुमबासीकै पक्षमा छु भन्ने ?: वर्षमान पुन

barshaman pun

रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने तर्क गरेका छन्। गृह जिल्ला रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका हुन्।

कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिँड्नेहरूले देशको नेतृत्व लिन नसक्ने भनाइ उनको छ। काठमाडौंमा सङ्घीयताको विरोध गर्ने र जनकपुर पुगेर सङ्घीयता चाहिन्छ भन्ने तथा काठमाडौंबाट सुकुम्वासीलाई लखेटेर झापामा पुगेपछि सुकुम्वासीको पक्षमा काम गर्छु भन्नेजस्ता असङ्गत अभिव्यक्ति दिनेहरूबाट कुनै आशा गर्न नसकिने तर्क पुनले गरे।

उनले आफूलाई नयाँ भन्ने राजनीतिक दललाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न आग्रह गरे।

उनले भने, ‘काठमाडौंमा सङ्घीयताको विरोध गर्ने र जनकपुर गएपछि सङ्घीयता चाहिन्छ भन्ने। काठमाडौंमा सुकुम्बासी, ठेलागाडामा व्यापार गर्नेहरू र कवाडीको काम गर्नेलाई खेद्ने अनि झापा झरेपछि सुकुम्वासीको पक्षमा छौँ भन्ने, जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने ‘पपुलिष्ट’ राजनीति घातक छ।’

उनको भनाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उक्त दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन)प्रति लक्षित भए पनि कसैको नाम भने लिएनन्।

यद्यपि वर्तमान संघीय लोकतान्त्रिक शासन प्रणाली स्वीकार गर्ने स्पष्ट प्रतिबद्धता तथा गणतन्त्रलाई समाजवादसँग जोड्ने, असमावेशीतलाई पूर्ण समावेशीतालामा लैजाने, धनी र गरिबबिचको खाडल पुरेर समानता कायम गर्ने एजेन्डामा सहमत भए नयाँ भनिएका दलसँग सहकार्यका लागि तयार रहेको पुनले बताए।

‘हामी नयाँसँग काम गर्न तयार छौँ । तर, अहिलेको उपलब्धि खोसेर पछि हट्न खोज्ने नयाँसँग होइन, अहिलेको उपलब्धि जोगाएर अघि बढ्ने नयाँसँग काम गर्न हामी तयार छौँ’ उनले भने।

विचार, राजनीति र एजेन्डाले नेपाली कम्युनिस्ट पार्टी नयाँ दल भएको दाबी गरे। आफूहरू यथास्थितिवादी तथा नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी नभएको बताए।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा १८ महिना चलेको सरकारले राज्य दोहन र बिचौलिया प्रवृत्ति नियन्त्रणको अभियान चलाएपछि काँग्रेस र एमाले डराएर केपी ओली नेतृत्वमा सरकार बनाएको बताए। प्रचण्डले थालेको सुशासनको अभियान रोक्न ओली नेतृत्वमा सरकार बनेपछि राज्य दोहन, अनियमितता र बिचौलिया प्रवृत्ति हाबी भएकाले भदौ २३ मा नवयुवाको आन्दोलन भएको उल्लेख गरे। केही शक्ति र व्यक्तिहरूले निर्वाचन हुँदैन भने पनि मुलुक निर्वाचनमा होमिएको र कसैले पनि निर्वाचन रोक्न नसक्ने स्पष्ट गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ