देश जलाउनेले देश बनाउने हाम्रो पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाए: नेकपा एमाले

राजनीति

देश जलाउनेले देश बनाउने हाम्रो पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाए: नेकपा एमाले

झण्डा जलाउनेलाई कारबाही हुन्छ: रवि लामिछाने

uml-flag-jalayeko-rasopa-dang-arthapranali

दाङ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वागत गर्न बसेका व्यक्तिहरुले बिहीबार बेलुका तुलसीपुरमा एमालेको झण्डा जलाएको विषयमा आलोचना भएको छ ।

शुक्रबार रास्वपाले घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न लामिछाने बिहीबार सुर्खेतबाट घोराही आउने क्रममा तुलसीपुरमा स्वागतका लागि बसेका कार्यकर्ताले एमालेकाे झण्डा जलाएका थिए ।

केपी ओलीविरुद्ध नाराबाजी गर्दै उनीहरुले एमालेको सूर्य अंकित झण्डा जलाएका हुन् ।

देश जलाउनेले देश बनाउने हाम्रो पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाए: नेकपा एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाएको दाबी गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बिहीबार राति दाङ तुल्सीपुरमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरूद्धको अपराधजन्य कार्य भएको एमालेको ठहर छ। ‘एमाले लाखौं जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुऱ्याउने गरी ‘सूर्य’ चिन्ह अंकित झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घट्नाले पुष्टि गरेको छ। र, यो अराजकता, उद्दण्डता र अपराधिक घटनाको नेकपा (एमाले) घोर भर्त्सना गर्दछ।’ आम निर्वाचन २०८२ का प्रेस संयोजन एवम् प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका नाराबाजीसहित महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरूद्धको अपराधजन्य कार्य हो। हाम्रो पार्टीले फागुन २१ को चुनाव ‘देश जलाउने र बनाउने ‘बीचको जनमत सङ्ग्रह हो भनिरहेकै बेला उनै देश जलाउनेहरूले देश बनाउने नारा अघि सारेको एमालेको आस्थाको पुञ्ज ‘सूर्य’ ध्वजावाहक झण्डा जलाएको घटना संयोग मात्रै होइन।’

एमालेले देश जलाउनेहरूबाटै आज नेकपा (एमाले) को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको दाबी गरेको छ।

नेसनल भोलिन्टियर फोर्सले भन्यो : झन्डा जलाउनेमाथि छानबिन र कारबाही होस्

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेसनल भोलिन्टियर फोर्सले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रममा एमालेको झन्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि आधारहीन आरोप लगाइएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठद्वारा जारी वक्तव्यमा लोकतन्त्रको नाममा अराजक गतिविधि, गालीगलौज र चरित्रहत्या स्वीकार्य नहुने उल्लेख गरिएको छ। राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गर्नुपर्ने भन्दै झन्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्य लोकतान्त्रिक संस्कारविरुद्ध भएको उनको भनाइ छ।

वक्तव्यमा उक्त घटनाको तत्काल छानबिन गर्न, संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न र यस्ता गतिविधि दोहोरिन नदिन राज्य संयन्त्र सक्रिय बन्न माग गरिएको छ। यस्ता घटनामा राज्य मौन बसे कानुनप्रति जनविश्वास कमजोर हुने चेतावनीसमेत दिइएको छ।

संगठनले राष्ट्रिय स्वाभिमान, विधिको शासन र राजनीतिक मर्यादाको रक्षाका लागि अराजक गतिविधिविरुद्ध सशक्त प्रतिवादमा उत्रने चेतावनी दिएको छ।

एमालेको झण्डा जलाइएको घटनाप्रति अनेरास्ववियुको आपत्ति, कारबाहीको माग

नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले एमालेको झण्डा जलाएको घटनाको कडा निन्दा गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष दिपक धामीले शुक्रबार विज्ञप्ति जारी गरेर राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गरी अरुको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कारविपरीत रहेको बताएका छन् ।

अनेरास्ववियुले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ भने सरकार मौन बसेर अराजकतालाई प्रोत्साहन दिएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

अनेरास्ववियुले भनेको छ:

अनेरास्ववियु सदैव राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, विधिको शासन तथा सामाजिक सद्भावको पक्षमा दृढतापूर्व उभिँदै आएको संगठन हो ।

हिजो साँझ दाङ जिल्लामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रममा सहभागी रास्वपा कार्यकर्ताले नेकपा (एमाले) को झण्डा जलाउने जस्तो अमर्यादित र उच्छृङ्खल गतिविधि गरिएको घटनाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता क्रियाकलापले लोकतान्त्रिक मूल्य-मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात पुऱ्याउँछ । राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता हो, तर फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरुको आस्था माथि आक्रमण गर्नु लोकतान्त्रिक संस्कार विपरीत कार्य हो । अनेरास्ववियु यस प्रकारको घटनाको घोर भर्त्सना गर्दछ ।

अतः सम्बन्धित निकायलाई घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न जोडदार माग गर्दछौँ। यदि यस विषयमा सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने कार्य गरेमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिन चाहन्छ ।

रास्वपा कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न एमाले दाङको माग

झण्डा जलाउने काममा संलग्न रास्वपा कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न एमाले दाङले मागगरेको छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यले शुक्रबार विज्ञप्ती जारी गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

यसैगरी एमाले निकट युवा संघका लुम्बिनी प्रदेश संयोजक सन्तोष वलीले निकालेको विज्ञप्तीमा घटनाका दोषीलाई तत्काल कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अन्य राजनीतिक दलका नेताहरुले पनि झण्डा जलाउनेकार्यको भर्त्सना गरेका छन् । बहुदलीय प्रतिस्पर्धामा अर्को पार्टीको झण्डा जलाउने, चुनावी अभियानमा अवरोध गर्ने कार्य आपत्तिजनक भएको उनीहरुले बताएका छन् ।

युवा संघले शुक्रबार झण्डा जलाउने कार्यको बिरोधमा घोराहीमा प्रदर्शन गरेको छ । उनीहरुले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कार्वाही गर्न उनीहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

झण्डा जलाउनेलाई कारबाही हुन्छ: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य पार्टीको झण्डा जलाउने कार्यकर्तालाई कार्वाही हुने बताएका छन् ।

शुक्रबार घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बिहीबार बेलुका तुलसीपुरमा एमालेको सूर्य अंकित झण्डा जलाएको विषयमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हाम्रो कसैको झण्डा जलाउने नीति छैन । यदि हाम्रो कार्यकर्ताले जलाएको रहेछ भने कारबाही हुन्छ,’ उनले भने,‘यदि घुसपैठ गरेर अरुले हामीलाई नै फसाउन खोजेको हो भने त्यस्तो सपना नदेखे हुन्छ । क्राक्रा खाएर बियाँ हाम्रो निधारमा टाँस्न खोजेको हो भने आँखा नचम्काए हुन्छ ।’

लामिछानेलाई स्वागत गर्न तुलसीपुरमा भेला भएका युवाहरुले बिहीबार बेलुका तुलसीपुरमा आफ्नो झण्डा जलाएको एमालेको आरोप छ । उक्त कार्यको एमालेले भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

रास्वपा दाङले भन्यो : एमाले झन्डा जलाएको भनिएको घटना भ्रामक र नियोजित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), दाङले भने एमालेको झन्डा जलाएको भनिएको घटना भ्रमपूर्ण भएको बताएको छ।

दाङ जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै एमालेको झन्डा आफूहरूले नजलाएको बताएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला सभापति विनय घिमिरेले ‘तुलसीपुरमा घण्टी पार्टीका कार्यकर्तीले जलाए एमालेको झन्डा’ भन्नु भ्रामक र नियोजित रहेको दाबी गरे।

विज्ञप्तिमा पार्टीका केन्द्रीय सभापति सुर्खेतको कार्यक्रम सकेर दाङ आउने क्रममा सडक किनारमा स्वागतमा जुटेका शुभेच्छुकहरूको भीड देखेर केही अवाञ्छित तत्वहरूले भ्रम सिर्जना गरेको ठहर गरिएको उल्लेख छ।

रास्वपाले उक्त घटनामा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्न सुरक्षा निकायसँग माग गरेको छ।

पार्टीले आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित रहन र सुसंस्कृत राजनीतिको मार्गमा लाग्न पनि अपिल गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ