स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

Min-Prasad-Gurung’s-33-point-plan-made-public-in-Syangja-1

स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा प्रतिनिधिसभाका दुवै क्षेत्रमा उम्मेदवारी दिएका नेताहरूले आ–आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । क्षेत्र नम्बर १ मा मिनप्रसाद गुरुङ र क्षेत्र नम्बर २ मा खिमबहादुर थापाले आगामी पाँच वर्षका लागि विकासका प्राथमिकता अघि सारेका हुन् ।

स्याङ्जा–१ मा गुरुङको ३३ बुँदे कार्यदिशा
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार मिनप्रसाद गुरुङले ‘समृद्ध स्याङ्जा, जनताको हित’ भन्ने मूल नारासहित ३३ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन् । उनले पूर्वाधार विकास, सामाजिक क्षेत्र सुधार, उद्यमशीलता प्रवर्द्धन र कृषि आधुनिकीकरणलाई मुख्य आधार बनाएका छन् ।

पाँच वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, वडा केन्द्रसम्म सडक विस्तार गर्ने तथा सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी स्याङ्जा–पाल्पा–रुपन्देही जोड्ने आर्थिक करिडोरको रूपमा विकास गर्ने योजना उनको प्राथमिकतामा छ । साथै, ज्याग्दी र आँधीखोला करिडोर सुधार, वैकल्पिक लोकमार्ग निर्माण, ‘एक घर–एक धारा’ अभियानमार्फत खानेपानी विस्तार र आवश्यक स्थानमा पक्की तथा झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।

सदरमुकामस्थित मालेबगर खेलमैदानलाई सुविधासम्पन्न बनाउने र प्रत्येक पालिकामा कम्तीमा एक खेलमैदान निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन् । सामाजिक क्षेत्रमा निरपेक्ष गरिबी आधाले घटाउने, अति विपन्न परिवारलाई उद्यमशील कार्यक्रममा आबद्ध गर्ने र बेरोजगारी दर घटाउने लक्ष्य राखिएको छ । स्वास्थ्य बिमामा शतप्रतिशत सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

स्वास्थ्यतर्फ स्याङ्जा सदरमुकामको प्रदेश अस्पताललाई ५० शय्यामा पूर्ण क्षमतासहित सञ्चालन गर्ने तथा स्थानीय तहका अस्पतालको पूर्वाधार सुदृढ गर्ने योजना छ । शिक्षातर्फ विद्यालय तहदेखि नै उद्यमशीलता शिक्षा लागू गर्ने, सामुदायिक विद्यालय सुधारका लागि संघीय शिक्षा ऐन संशोधन पहल गर्ने र दलित समुदायका परम्परागत सिपलाई आयआर्जनसँग जोड्ने उल्लेख गरिएको छ ।

युवालाई सीपमूलक तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने, होमस्टे स्तरोन्नति गरी अन्तर्राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने र सुन्तला तथा जडीबुटीजन्य उद्योग स्थापना गर्ने लक्ष्य पनि राखिएको छ । कृषि क्षेत्रमा सुन्तला, कफी र मसलाबाली विस्तार, गाईभैंसी जोन विकास तथा दुई सय आधुनिक कृषि तथा पशुपन्छी फर्म स्थापना गर्ने योजना समेटिएको छ ।

पूर्व प्रदेशसभा सदस्यसमेत रहेका गुरुङले यो सङ्कल्प पत्र पार्टीको घोषणापत्र नभई आफ्नो व्यक्तिगत कार्यदिशा भएको स्पष्ट पार्दै कार्यान्वयनका लागि मतदातासँग समर्थन मागेका छन् ।

स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक


स्याङ्जा–२ मा थापाको सुशासन र कृषि प्राथमिकता
यसैबीच, स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार खिमबहादुर थापाले सुशासन, पूर्वाधार र कृषिलाई केन्द्रमा राख्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

विद्यार्थी जीवनदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, सरकारी निकायमा हुने ढिलासुस्ती अन्त्य गर्ने र सेवा प्रवाह प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

कृषि तथा पशुपालनमार्फत स्वरोजगार सिर्जना गर्ने योजना अन्तर्गत कालीगण्डकी र आँधीखोलासहित विभिन्न खोला आसपासका उर्वर फाँट र टार क्षेत्रको सदुपयोग गर्दै कृषकलाई व्यावसायिक बनाउने लक्ष्य राखिएको छ । सहुलियत ऋण, प्राविधिक सहयोग र बजार व्यवस्थापनमार्फत कृषकको आम्दानी बढाउने योजना अघि सारिएको छ ।

पूर्वाधारतर्फ प्रत्येक पालिकामा व्यावसायिक शिक्षालाई प्रबर्द्धन, सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, ‘एक निर्वाचन क्षेत्र–एक सुविधा सम्पन्न अस्पताल’ स्थापना गर्ने र ‘एक पालिका–एक उद्योग’ अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ । ग्रामीण सडक स्तरोन्नति, करिडोर विस्तार र सिद्धार्थ राजमार्गको थप सुधारलाई पनि प्राथमिकतामा राखिएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्यटन प्रबर्द्धनका लागि राम्दी–देवघाट क्षेत्रमा जल यातायात सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ । साथै, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान संरक्षणमा राष्ट्रिय स्तरमा समन्वय गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

दुग्ध विकास संस्थाका पूर्व कार्यकारी तथा कालीगण्डकी गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका थापाले आफूलाई इमान्दार र जनमुखी प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै विकास र सुशासनलाई व्यवहारमा उतार्ने दाबी गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ