रविप्रति गगनको कटाक्ष ‘नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू देश बनाउँछु भन्दै नाटक गर्दैछन्’

राजनीति

रविप्रति गगनको कटाक्ष ‘नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू देश बनाउँछु भन्दै नाटक गर्दैछन्’

gagan-thapa-5

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने दाबी गरेका छन् । सुर्खेतमा भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे ।

उनले भने, ‘विगत पाँच छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागि मात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब ०८२ देखि ०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ । यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ ।

हामीलाई नेपालको सीमितता थाहा छ । हामी यसलाई सुधार्छौँ । प्रतिज्ञा पत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर कुरेर बस्दैनौँ । वैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्‍यौँ भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्‍यौँ भन्छौँ ।’

उनले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्‍यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने बताए ।

उनले भने, ‘आओस् एमाले, आओस् नेपाली कम्युनिस्ट पार्टी र आओस् रास्वपा एउटै मञ्चमा बसेर योजना बनाऊँ भन्दा कोही नआउने । हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरूलाई कर्णालीवासीले नपत्याओस् ।’

सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए । उनले सम्बोधनका क्रममा भने, ‘सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानु हुँदैन । कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।’

सभापति थापाले भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंसको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए ।

विदेशमा भएकाहरूलाई सम्बोधन गर्दै थापाले भने, ‘सिङ्गो कांग्रेसको जिम्मा लिएर बोल्दै छु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरूको छानबिन गर्दै गर्दां मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्‍यो भनेर सुन्न पाउनु हुँदैन ।’

उनले कांग्रेसको प्रतिज्ञा पत्रले अझै सबै ठाउँमा चर्चा बटुल्न नसकेको बताउँदै यथास्थितिवादी र अतिवादीले मुलुक नबनाउने दाबी गरे ।

सभापति थापाले भने, ‘मैले दुई चार ओटा गालीको कुरा गरेँ भने त्यसले बेलुका भाइरल भइहाल्छ । आएको हैन माओवादी ? खै के भयो ? नयाँ नयाँ भनेर आउँदै गर्दा देखेको होइन हामीले ? फेरि पनि भुलभुलैयामा पर्ने ? नेपाली कांग्रेस यही देशको पार्टी हो । हिजोका कमीकमजोरी मिल्काउँदै फाल्दै सच्चिने ठाउँमा सच्चिएर हामी कांग्रेस बदलेर आएका छौँ । देश पनि बदल्छौँ । पाँच वर्षमा देशलाई दुर्घटनामा जान दिन्नौँ । यथास्थितिवादीले देशलाई अगाडि बढ्न दिँदैन । अर्को शक्ति आक्रोश छ आगो छ । हामी पेटको आगो पनि भर्नुपर्नेछ ।’

सुर्खेतको मैदानमा बोल्दै सभापति थापाले उपस्थित समुदायतिर हेर्दै भने, ‘यो उत्साह यो चौरीमा भएर हुँदैन । सबै साथीहरू गाउँ जानुस् । आफ्नो घरमा होइन मतदाताको घरमा पुग्नुस् । कांग्रेसको सन्देश लिएर पुग्नुस् । पाँच वर्षलाई खेर जान दिन हुन्न भन्नुस् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ