पोखरा । विद्यार्थीमा साहित्य, कला र संगीतको चेतना र पठनशैली विकास गराउने उद्देश्य सहित पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला आयोजना गरिएको छ ।
मेलामा अग्रज साहित्यकार, गायक, कविका अनुभव र प्रस्तुतीसँगै साक्षात्कार पनि गरिएको थियो । कार्यक्रमको मूर्धन्य साहित्यकार सरूभक्तले उद्घाटन गरे ।

विद्यार्थीसँग प्रश्नोत्तर साक्षात्कारमा सहभागी हुँदै सरूभक्तले पछिल्लो पुस्ता निकै भाग्यमानी रहेको बताए । ‘हाम्रो समयमा आफ्नो कला र प्रतिभा उजागर गर्नका लागि यस्ता स्थान प्राप्त हुन्थेन । अहिले बालबालिकाहरूलाई सानै देखि आफ्नो कला र क्षमता प्रस्फुटनसँगै विकास गर्न यसरी विद्यालयले नै स्थान दिइरहेको छ । तपाईं साना बालबालिकाहरू भाग्यमानी हुनुहुन्छ ।’

सरुभक्तले आफ्नो बाल्यावस्था र विद्यार्थीको जीवनबारे बच्चाहरूसँग अनुभव पनि साझा गरे । उनले विद्यार्थीको सिकाई पाठ्यपुस्तकमा मात्र निर्भर रहन नहुने उल्लेख गरे । जीवन बुझ्न किताब मात्र पर्याप्त नहुने भन्दै उनले आफ्नो प्रतिभा जुन क्षेत्रमा छ, त्यसै क्षेत्रमार्फत् जीवन अघि बढ्ने बताए ।

साहित्यकार सूर्य खड्का ‘बिखर्ची’ले बालबालिकालाई आफ्नो चित्रकला, गायन, नृत्य, कविता प्रस्तुत गर्ने स्थान दिएकोमा विद्यालयलाई आभार व्यक्त गरे । उनले विद्यालयले यस्तै अतिरिक्त क्रियाकलाप मार्फत् विद्यार्थीको सर्वाङ्गिण विकासमा टेवा पुर्याउनुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीका फरक कार्यक्रम पस्कने क्रममा साहित्य, संगीत र कलालाई समेटेर कार्यक्रम आयोजना गरेको बताए । ‘विद्यार्थीको रुची फरक फरक हुन्छ । कतिपयले साहित्यलाई रुचाउँछन, केहीले कला र कतिपयले संगीतलाई । त्यसबाहेक विद्यार्थीमा पठन शैली विकास गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्छन्’ पौडेलले भने, ‘फरक शैलीमा कार्यक्रम पस्कने क्रममा हामीले गतवर्षदेखि नै साहित्य, कला र संगीतलाई समेटेका छौँ । यो क्रम जारी रहनेछ ।’

विद्यालयका प्राचार्य किरण सापकोटाले पाठ्यपुस्तक बाहेक बाह्य ज्ञान दिलाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए । ‘विद्यार्थीको सिर्जना, रचना र सिर्जनामार्फत पस्केको सपना देखाउने अवसर यो कार्यक्रमले जुटाएको छ,’ प्राचार्य सापकोटाले भने, ‘यसले विद्यार्थीमा रहेको अन्तरनिहीन क्षमतालाई बाहिर ल्याउनेछ भने अरु विद्यार्थीमा पनि कला र संस्कृतिको ज्ञान पस्कनेछ ।’
कार्यक्रममा मजदुर कवि इन्द्र राना ‘प्रतीक’लाई नगद १० हजारसहित सम्मान पनि गरिएको थियो । ‘उहाँको संघर्षपूर्ण जीवन प्रेरणादायी छ’, प्राचार्य सापकोटा भन्छन्, ‘गुजाराका लागि जीवनभर ज्यालामजदुरी गर्दै आएका स्रष्टाको सम्मान गरेका हौं।’
६० वर्ष कटेका ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फोर्ने र प्रसाद बनाउने काम गर्छन्। विगतमा उनले कहिले सेती नदी किनारका बालुवा चाल्ने काम गरे भने कहिले घर बनाउने र रंग रोगन गरे। पुर्ख्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नो घर छैन। जग्गा पनि छैन। त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन्। प्रकाशनका लागि उनका थुप्रै पाण्डुलीपि तयार छन्।

उक्त कार्यक्रममा पुस्तक र चित्रकला प्रदर्शनी र चिनियाँ नृत्य लगायत सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । उक्त अवसरमा पूर्व विद्यार्थी अस्मित भुसाल, विद्यार्थीहरु सुशान्त सिग्देल, करिना काफ्ले लगायतबाट कविता बाचन सहित सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । विद्यार्थी आफैले कोरेका चित्र उक्त कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो भने विद्यार्थीहरुले प्रत्यक्ष चित्रकला प्रस्तुत पनि गरेका थिए ।

कार्यक्रमको संचालन विद्यालयका सहप्राचार्य प्रदीप खनालले गरेका थिए ।










सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस