प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ गरिएको छ । निर्वाचन सुरक्षामा योगदान दिएका प्रहरीहरूलाई बिहीबार प्रशंसापत्र प्रदान गर्दै औपचारिक रूपमा बिदाइ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट र इलाका प्रहरी कार्यालय चिसापानीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उनीहरूलाई बिदाइ गरिएको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई बुधबार सूचना जारी गरेर बिदाइ कार्यक्रममा उपस्थित हुन भनिएको थियो । सोही अनुरूप आयोजित कार्यक्रममा अधिकांश प्रहरी पोशाकमै उपस्थित भई सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा उनीहरूलाई निर्वाचन अवधिमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रशंसापत्र वितरण गरिएको थियो ।
निर्वाचन सुरक्षाका लागि स्याङ्जामा कुल २ हजार १ सय १५ जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो । जिल्लाभित्र उपलब्ध जनशक्तिसँगै बाहिरी जिल्लाबाट समेत प्रहरी ल्याइएको थियो । जसअन्तर्गत तनहुँबाट ६७, कास्कीबाट १ सय ३९ र नवलपरासीबाट २ सय ९० जना प्रहरी स्याङ्जामा खटिएका थिए भने जिल्लाभित्रबाट १ हजार ६ सय १९ जना छनोट गरिएको थियो ।
निर्वाचन अवधिभर ती प्रहरीहरू विभिन्न मतदान केन्द्र र संवेदनशील स्थानमा खटिएर सुरक्षा व्यवस्थापनमा सक्रिय बनेका थिए । निर्वाचनलाई शान्तिपूर्ण बनाउन योगदान दिएका प्रहरीलाई सम्मानपूर्वक बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
कोदो फल्ने बारीमा सयपत्री
स्याङ्जामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !