स्याङ्जाको गुलाबी शहर वालिङमा बिहीबारदेखि ‘फर्स्ट एक्स्पो’ पर्व सुरु भएको छ । स्थानीय स्तरमा पर्यटन, व्यापार र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोले नगरमा उत्सवको माहोल थपेको छ ।
एक्स्पोको उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले यस्ता कार्यक्रमले आन्तरिक पर्यटन विस्तारसँगै स्थानीय उत्पादन र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले वालिङलाई मनोरञ्जन, व्यापार र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न यस्ता मेला–महोत्सवहरूले निरन्तर सहयोग पुर्याइरहेको बताए ।
नगर प्रमुख खाँणका अनुसार नगरपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न सम्भावनायुक्त स्थानहरूमा पूर्वाधार निर्माण अघि बढाएको छ । आँधीखोलामा जल पर्यटनको सम्भावना खोज्न आवश्यक अध्ययनसमेत भइसकेको उनले जानकारी दिए । विकासका लागि सरकारी प्रयाससँगै निजी क्षेत्र र नागरिकको सहकार्य अपरिहार्य हुनेमा उनले जोड दिए ।
आयोजक समितिका संयोजक विजय मल्लले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै वालिङका धार्मिक तथा ऐतिहासिक स्थलहरूको पहिचान उजागर गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताए । नेपाली नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने संस्कार विकासमा पनि यसले सहयोग पुग्ने उनको विश्वास छ ।
एक्स्पोमा स्थानीय उत्पादन, मौलिक खानाका परिकार, कृषि तथा ताजा तरकारी, अदुवा–कफी प्रदर्शनी, सूचना प्रविधि र शैक्षिक सामग्री, अटोमोबाइल्स, हस्तकला तथा पर्यटनसम्बन्धी स्टलहरू राखिएका छन् । साथै विभिन्न सांगीतिक कार्यक्रम, टिकटक प्रतियोगिता, दोहोरी, नृत्य, भजन तथा नौमती बाजा प्रतियोगिता पनि समावेश गरिएको छ । चर्चित ब्याण्डहरूको लाइभ कन्सर्ट मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ ।
इभेन्टका सचिव विक्रम खाँणका अनुसार दैनिक रूपमा विविध सांस्कृतिक तथा प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गरिनेछ । एक्स्पोबाट उठेको रकम खर्च कटाएर वालिङ खेलमैदान मर्मत तथा राष्ट्रिय महिला लिगमा नगरको सहभागिताका लागि प्रयोग गरिने प्रबन्धक नवराज पौडेलले जानकारी दिए ।
सामान्य दर्शकका लागि प्रवेश शुल्क १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र बेलुकी हुने कन्सर्टका लागि ३०० रुपैयाँ तोकिएको छ ।
बिहान १० बजेदेखि साँझ ७ बजेसम्म प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ भने साँझ ७ देखि १० बजेसम्म लाइभ कन्सर्ट आयोजना गरिने कार्यक्रम तालिका छ । ओमकार इभेन्ट हबद्वारा आयोजित एक्स्पो वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन