विद्यार्थी संख्या न्यून बन्दै गएपछि स्याङ्जाको भीरकोट नगरपालिकाले सामुदायिक विद्यालयको संरचना पुनःव्यवस्थित गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले विभिन्न वडामा रहेका आधारभूत तहका विद्यालयलाई समायोजन गर्दै केही स्थानमा बाल विकास केन्द्र मात्रै कायम गर्ने तयारी अघि बढाएको हो ।
यहाँको वडा नं. ३, ७ र ८ का गरी नौ वटा आधारभूत विद्यालय समायोजनमा परेको नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष दिपेन्द्र केसीले जानकारी दिए । उनका अनुसार यी विद्यालयहरू अब स्वतन्त्र रूपमा सञ्चालन नहुने र बाल विकास केन्द्रका रूपमा मात्र सीमित हुनेछन् ।
समायोजनमा पर्ने विद्यालयहरूमा वडा नं. ३ का जनविकास (रोजिखोला) र बटुकभैरव (बजारानी), वडा नं. ७ का बाघ भैरवी (चिउरीखर्क) र कालिका (खिलुङ) रहेका छन् । त्यस्तै, वडा नं. ८ का अमर (पखेरे), प्रगतिशील (शालिकोश), रत्न देवीस्थान (खोरबार), सरस्वती (चिलाउनेखार्क) र देउराली भन्ज्याङ (सिरूखर्क) पनि समेटिएका छन् ।
यसबाहेक, वडा नं. १ को रानीरह आधारभूत विद्यालयलाई लक्ष्मी आधारभूत विद्यालय (गजौंदी) मा गाभिएको छ भने वडा नं. ९ को भविष्य निर्माण आधारभूत विद्यालयमा कक्षा घटाएर १ देखि ३ सम्म मात्रै सञ्चालन गर्ने निर्णय गरिएको छ ।
न्यूनतम विद्यार्थी संख्या नपुगेका विद्यालयहरूलाई कार्यविधि–२०८२ अनुसार समायोजन गरिएको शिक्षा शाखा प्रमुख खड्गबहादुर रानाले बताए । उक्त कार्यविधिअनुसार कक्षा १–३ मा कम्तीमा ७ जना र कक्षा १–५ मा १० जना विद्यार्थी अनिवार्य हुनुपर्ने प्रावधान छ ।
विद्यालय समायोजनअघि स्थलगत अनुगमन, सरोकारवालासँग छलफल र कार्यदलको सिफारिसका आधारमा निर्णय गरिएको नगरपालिकाले जनाएको छ । कार्यदलका संयोजक तथा वडा नं. ४ का अध्यक्ष रत्नप्रकाश श्रेष्ठले १२ विद्यालय समायोजनका लागि सिफारिस गरे पनि सबै लागू नभएको बताए । वडा नं. ५ को तिलाहार नेटा आधारभूत विद्यालय भने समायोजनबाट जोगिएको छ ।
नगर कार्यपालिकाको बैठकले समायोजनसम्बन्धी निर्णय पारित गरिसकेको छ । सो निर्णय शैक्षिक सत्र २०८३ देखि कार्यान्वयनमा आउनेछ ।
समायोजनपछि शिक्षक तथा कर्मचारीलाई आवश्यकता अनुसार अन्य विद्यालयमा खटाइने शिक्षा शाखाले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु