पोखरामा फिर्केखोलाको अतिक्रमित संरचना भत्काउन सुरू

पोखरामा फिर्केखोलाको अतिक्रमित संरचना भत्काउन सुरू

firke dozer

पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना ३ फरक ठाउँबाट भत्काउन सुरु गरेको हो ।

महानगरले आईतबार विहान पोखरा २ र १८ को सिमानामा पर्ने अँधेरीकुना, पोखरा ४ र ५ को सिमानामा पर्ने फिर्केपुल बुढानिलकण्ठ मन्दिर छेउ र पोखरा ७ र ८ को सिमानामा पर्ने जिरो किलोमिटर स्थित फिर्केखोला पुल छेउबाट  फिर्केखोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सुरु गरेको हो ।

पोखरा महानगरपालिकाले सो क्षेत्रमा अतिक्रमण गरेर बनाइएका मापदण्ड विपरितका संरचना भत्काउन पटक/पटक ३५ दिने सूचना जारी गरेको थियो। पछिल्लो पटक दिइएको ७२ घण्टे अल्टिमेटम हिजो सकिएपछि आइतबारदेखि महानगरले ३ फरक ठाउँबाट १० भन्दा बढी डोजर लगाएर अवैध संरचना भत्काउन सुरु गरेको महानगरले जनाएको छ । अवैध संरचना भत्काउने कार्यको औपचारिक सुरुवात भने पोखरा ७ र ८ मा पर्ने जिरोकिलोमिटरस्थित फिर्केखोला मिचेर बनाइएको लायन्स क्लवको भवन भत्काएर सुरु गरिएको थियो ।

यसअघि पोखरा महानगरपालिकाले एक महिना लगाएर फिर्केखोलाको नापजाँच गरि प्रतिवेदन बनाएको थियो । सो प्रतिवेदन अनुसार फिर्केखोलामा मापदण्ड मिचेर १६० वटा संरचना निर्माण भएका छन् । जसमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएका छन् । जसमध्ये खोलामाथि १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ। त्यसबाहेक खोलाको मापदण्ड मिचेर थप ३५ वटा स्थायी र ९७ वटा अस्थायी संरचना निर्माण भएका छन् । यी सबै भत्काईने महानगरले जनाएको छ ।

अतिक्रमणको चपेटामा परेको करीब ८ किलोमिटरको यो फिर्केखोलामा नापजाँचपश्चात ५८८ सीमा स्तम्भहरु गाडिएका छन्। जसअनुसार खोलाको पश्चिमतर्फ ३०३ वटा र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएको महानगरको प्रतिवेदनमा उल्लेख छ । सो सीमा स्तम्भ भन्दा भित्रपट्टीका अतिक्रमित स्थायी तथा अस्थायी दुबै प्रकारका संरचना हटाइनेछ ।

फिर्केखोला साबिक ग्यारजाती, पछि सराङकोट गाविसहुँदै हाल पोखरा महानगरपालिका वडा नं. १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ । फिर्केखोलाको खोलाघर नापजाँच समितिका संयोजक वासुदेव पौडेलका अनुसार नापजाँचका क्रममा फिर्केखोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाईंसम्म फराकिलो भएर फैलिएको पाइएको छ। खोलाको उचाई ४ देखि ९ मिटरसम्मको गहिराई रहेको छ ।

अतिक्रमित संरचना हटाइसकेपछि फिर्के करिडोर निर्माण गरेर त्यहाँ फिर्केको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको योजना अगाडि बढाइने जनाइएको छ।

तस्वीरहरूः अभियान टिभी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds