स्याङ्जामा हिंसामा परेका महिलालाई तत्काल संरक्षण र पुनःस्थापनाको व्यवस्था गर्दै सञ्चालन गरिएको अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । परिवार, समाज वा सडकमा असुरक्षित अवस्थामा पुगेका महिलाका लागि केन्द्र अहिले सुरक्षित आश्रयस्थलका रूपमा स्थापित हुन थालेको हो ।
गण्डकी प्रदेश सरकारअन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिकाको संयोजकत्वमा जिल्लाका ११ वटै स्थानीय तहसँग सहकार्य गरेर सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रमा लैङ्गिक हिंसा, पारिवारिक विवाद तथा बेवारिसे अवस्थामा भेटिएका महिलालाई उद्धार गरी सुरक्षित आश्रय दिने गरिएको छ ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार हालसम्म २२ जनाले केन्द्रबाट सेवा लिइसकेका छन् । तीमध्ये अधिकांश बलात्कार तथा जबरजस्तीकरणी जस्ता गम्भीर हिंसामा परेका महिला रहेका छन् । केही महिला पारिवारिक हिंसाका कारण आश्रयमा पुगेका छन् भने सडकमा बेवारिसे अवस्थामा भेटिएका महिलालाई समेत केन्द्रले संरक्षण दिएको छ ।
केन्द्रमा बस्ने महिलालाई निःशुल्क खाना, बसोबास, स्वास्थ्य उपचार, कानुनी सहायता र मनोसामाजिक परामर्श उपलब्ध गराइँदै आएको छ । प्रदेश अस्पताल स्याङ्जामा रहेको एकद्वार सङ्कट व्यवस्थापन प्रणालीमार्फत उपचार तथा अन्य आवश्यक सेवा पनि समन्वय गरिने गरिएको कार्यालयले जनाएको छ ।
पुतलीबजार नगरपालिकाकी उपप्रमुख तथा केन्द्रकी संयोजक देवी अर्यालले हिंसामा परेका महिलाको आत्मविश्वास कमजोर हुने भएकाले तत्काल सुरक्षित वातावरण आवश्यक पर्ने बताइन् । उनका अनुसार केन्द्रले पीडितलाई केही समय आश्रय दिएर मनोपरामर्श गर्ने, परिवारसँग पुनर्मिलन गराउने र आवश्यक परे न्यायिक प्रक्रियासम्म सहजीकरण गर्ने काम गरिरहेको छ ।
उनले सेवा केन्द्र प्रभावकारी बन्दै गए पनि अझै धेरै महिलासम्म यसको जानकारी पुग्न नसकेको उल्लेख गर्दै स्थानीय तह र सरोकारवाला निकायले सचेतनामूलक अभियान बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन