स्याङ्जाको भीरकोट नगरपालिका–७ स्थित ऐतिहासिक खिलुङ कालिका मन्दिर जोड्ने सडक स्तरोन्नति भएपछि स्थानीय बासिन्दा र पर्यटकलाई आवतजावतमा सहज भएको छ । सिद्धार्थ राजमार्गको हेलुदेखि खिलुङ गाउँसम्म पुग्ने सडक दुई दशकभन्दा बढी समयपछि कालोपत्रे र ढलान गरिएको हो ।
वि.सं. २०६२ सालमै ट्र्याक खुलेको उक्त सडक लामो समयसम्म कच्ची र जोखिमपूर्ण अवस्थामा थियो । अहिले सडकको २ किलोमिटर भाग ढलान र ५ सय मिटर कालोपत्रे गरिएको छ । विशेषगरी जोखिमपूर्ण मानिने ‘भीरखण्ड’ क्षेत्रमा सडक सुधार भएपछि स्थानीयले राहत महसुस गरेका छन् ।
स्थानीय ज्येष्ठ नागरिक चन्द्रबहादुर गुरुङले सडक स्तरोन्नतिसँगै मन्दिर दर्शन गर्न आउने भक्तजन र गाउँलेलाई ठूलो सहजता भएको बताए । “पहिले यात्रा निकै जोखिमपूर्ण थियो, अहिले धेरै सहज भएको छ,” उनले भने ।
हेलुदेखि खिलुङ गाउँसम्मको सडक करिब ७ किलोमिटर लामो छ । समुद्री सतहबाट करिब १६ सय मिटर उचाइमा रहेको गाउँ र मन्दिर जोड्ने सडकको थप २.५ किलोमिटर खण्डमा पनि स्तरोन्नतिको काम जारी छ ।
संघीयता कार्यान्वयनपछि स्थानीय, प्रदेश र संघीय सरकारको प्राथमिकतामा परेको यो सडक करिब १३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको हो । फुर्सामाटा कालिका कन्ट्रक्सन र अर्जुनचौपारी/भुषाल कन्ट्रक्सनले निर्माणको जिम्मा लिएका थिए ।
वडा अध्यक्ष तारा प्रसाद अर्यालका अनुसार सडक सुधारसँगै धार्मिक पर्यटन मात्रै होइन, स्थानीय कृषि उत्पादनको बजार पहुँच पनि बढ्ने अपेक्षा गरिएको छ । खिलुङ क्षेत्रमा उत्पादन हुने सुन्तला तथा अर्गानिक कृषि उपज अब सहज रूपमा बजारसम्म पुर्याउन सकिने उनले बताए ।
“पहिले हेलुदेखि खिलुङ पुग्नै एक घण्टा लाग्थ्यो, त्यो पनि निकै कष्टकर यात्रा थियो,” अध्यक्ष अर्यालले भने, “अब भने आधा घण्टामै सहज रूपमा पुग्न सकिन्छ ।”
सम्बन्धित खबर
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला