पोखरा । नेपालमा आधुनिक पर्वतारोहणको ऐतिहासिक सुरुआत भएको गण्डकी प्रदेशस्थित अन्नपूर्ण हिमाल (८ हजार ९१ मिटर) को आरोहणसँगै विश्व पर्यटनको नक्सामा नेपालको नाम जोडिएको थियो ।
सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेपछि खुलेको हिमाल आरोहणको यही गौरवमय इतिहासको पृष्ठभूमिलाई आत्मसात्गर्दै गण्डकी प्रदेश सरकारले ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका प्रदेशका ६ जना साहसी पर्वतारोहीलाई शुक्रबार विशेष समारोहका बीच नगद सहित सम्मान गरेको छ । साहसिक पर्वतारोहणमार्फत नेपालको गौरव अन्तर्राष्ट्रिय स्तरमा फैलाउन र प्रदेशको पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान पु¥याएबापत उनीहरूलाई सम्मानित गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पर्वतारोहीहरूलाई जनही ४५ हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरे ।
सम्मानित हुने आरोहीहरूमा चुमनुब्री गाउँपालिका–१, गोरखाकी नाङ्सल छ्योटोन लामा, कुश्मा नगरपालिका–१४ पर्वतका किरणबहादुर पिसी, माछापुच्छ«े गाउँपालिका–४, कास्कीका किशोर अधिकारी, बिहादी गाउँपालिका–४, पर्वतका देवीप्रसाद न्यौपाने, ऋषिङ गाउँपालिका–२, तनहुँका अमित थापा, ऋषिङ गाउँपालिका–५, तनहुँका नवराज राना छन् ।
मन्त्रालयका अनुसार गोरखाकी लामाले सगरमाथा (२०८१ जेठ १० गते) मनास्लु, ल्होत्से हिमालको सफलता पूर्वक आरोहण गरेकी छिन् । भारतीय सेनाका कार्यरत पर्वतका पिसीले विस २०८२ जेठ १३ गते सगरमाथाको आरोहण गरेका छन् । कास्कीका नेपाली सेनाका मेजर अधिकारीले २०८२ जेठ १ गते सगरमाथाको आरोहण गरेका हुन् । नेपाली सेनाको सैनिक उच्च शिखर शिक्षालय कैसाङ क्याम्प मुस्ताङमा कार्यरत पर्वतका न्यौपानेले २०७९ वैशाख २९ गते सगरमाथाको सफल आरोहण गरेको थिए ।
सम्मान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पर्वतारोहण पर्यटन समृद्धिको आधार भएको चर्चा गरे । उनले हिमाललाई केवल प्राकृतिक सम्पदाका रूपमा मात्र नभई नेपालको सभ्यता, संस्कृति र पर्यटनको मुख्य मेरुदण्डका रूपमा बुझ्नुपर्ने बताए । ‘विश्वले अहिले योग, ध्यान र वेलनेस प्रति ठूलो चासो देखाइरहेको छ । यस्तो अवस्थामा गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक र वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ,’ उनले भने । पर्यटकीय अफ–सिजनमा पनि पोखरा र आसपासका क्षेत्रमा पर्यटकको चहलपहल हुनु सुखद रहेको भन्दै उनल् दिगो पर्यटनमार्फत समृद्ध गण्डकी निर्माणमा प्रदेश सरकार लागिरहेको उल्लेख गरे ।
कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री रिमालले नेपालमा आधुनिक पर्वतारोहणको इतिहास गण्डकी प्रदेशबाटै सुरु भएको जानकारी दिइन् । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि नेपालमा हिमाल आरोहणको ढोका खुलेको जानकारी दिदै उनले त्यसपछि मात्रै सन् १९५३ मा सगरमाथा र १९५६ मा मनास्लु तथा ल्होत्से हिमालको सफल आरोहण भएको स्मरण गरिन् । उनले पर्वतारोहीहरूको साहस र समर्पणले विश्वसामु नेपालको उचाइ बढेको चर्चा गरिन् । उनले सम्मानले पर्वतारोहण क्षेत्रमा नयाँ ऊर्जा थप्ने र पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव रोशन ज्ञवालीले पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेशमा साहसिक पर्वतारोहणको प्रचुर सम्भावना रहेको बताए । उनले प्रदेश सरकारले नयाँ पर्यटन नीतिको मस्यौदा तयार गरेको र आगामी मन्त्रिपरिषद् बैठकले यसलाई पारित गरेपछि पर्यटन प्रवद्र्धनमा नयाँ इँटा थपिने विश्वास व्यक्त गरे । मन्त्रालयका उपसचिव टीकाराम पौडेलले वार्षिक स्वीकृत कार्यक्रम अनुसार नै आरोहीहरूलाई सम्मान गरिएको जानकारी दिए ।
सम्मानित आरोही देवीप्रसाद न्यौपानेले हिमाल जति सुन्दर र मनमोहक देखिन्छ, त्यसको आरोहण उत्तिकै चुनौतीपूर्ण रहेको अनुभव सुनाए । ‘हिमाल देख्दा सहज लागे पनि जति उचाइ बढ्दै जान्छ, त्यति नै तेज हावा र लेक लाग्ने समस्याले कठिन बनाउँछ,’ उनले भने । पर्वतको दुर्गम गाउँमा जन्मेर ६ हजार मिटरभन्दा अग्ला हिमाल चढिसकेका न्यौपाने सन् २०२२ को सफा हिमाल अभियानमा समेत सहभागी थिए । हिमाल आरोहणमा गण्डकी प्रदेशको वर्चस्व रहेको भन्दै उनले यसका लागि अदम्य साहस चाहिने उल्लेख गरे ।
मन्त्रालयका अनुसार विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल (एट थाउजेन्डर) मध्ये नेपालमा ८ वटा रहेका छन् । तीमध्ये अन्नपूर्ण, मनास्लु र धौलागिरी गरी ३ वटा हिमाल गण्डकी प्रदेशमा पर्दछन् । यद्यपि, जलवायु परिवर्तन र बढ्दो मानवीय चापका कारण हिमालहरूमा फोहोर व्यवस्थापनको चुनौती थपिएको छ । सरकारले हिमाल सफाइका विभिन्न अभियानहरू सञ्चालन गरिरहेको सन्दर्भमा प्रदेश सरकारले पनि पर्यटनलाई दिगो बनाउन र पर्यटकको बसाइ अवधि तथा खर्च बढाउनेतर्फ विशेष रणनीति अख्तियार गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
प्रेस रजिष्ट्रारको कार्यालयबाट अग्रज ५ पत्रकार सम्मानित
कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
पाेखराकाे शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्दै ‘प्रतिभा बिजनेस स्कुल’ स्थापना, बीआइटी कोर्स सञ्चालन
फेवातालमा बेपत्ता युवकको शव फेला
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
ट्याक्सी, बस लगायतका सार्वजनिक सवारीमा अब भित्र र बाहिर क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड