पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने

चोरी

पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने

४ विदेशीसहित ९ जना पक्राउ

chori

पोखरा । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा शृंखलाबद्ध चोरीमा संलग्न एक संगठित गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुई भारतीय र दुई चिनियाँ नागरिकसहित ९ जना रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो गिरोह पोखराका कम्तीमा पाँच वटा ठूला चोरीका घटनामा संलग्न देखिएको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २३ वर्षीय राहुल निसाद, महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव तथा चीनको वन्जाका ३० वर्षीय वेन जी र स्याङडोङका ३७ वर्षीय वाङ लिया इन रहेका छन् । यस्तै, चोरीमा संलग्न तथा सहयोग गर्ने नेपाली नागरिकहरूमा स्याङ्जाका ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्णका ५० वर्षीय खिमबहादुर क्षेत्री (राजु केसी), अर्घाखाँचीका २९ वर्षीय अशोक पोखरेल, पोखरा–१६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङका २७ वर्षीय अनिल बिक रहेका छन् ।

प्रहरीका अनुसार यो गिरोहले योजनाबद्ध रूपमा भूमिका बाँडफाँट गरी चोरी गर्ने गरेको पाइएको छ । भारतीय नागरिकहरू प्रत्यक्ष चोरीमा संलग्न हुने, चिनियाँ नागरिकहरूले चोरीपूर्व ‘रेकी’ (निगरानी) गर्ने र नेपाली सहयोगीहरूले घर देखाउने तथा चोरीका सामान किनबेचमा सहयोग गर्ने गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानकाअनुसार चिनियाँ नागरिकहरूले नेपाली र हिन्दी भाषा बुझ्ने भएकाले समूहमा सञ्चार गर्न सहज भएको छ ।

गिरोहले पोखरामा २०८३ असार १४ गते पोखरा–१८ मणि मार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला सुनचाँदीका गहना र ७० हजार रुपैयाँ, असार ४ गते पोखरा–१७ छोरेपाटनका शिवप्रसाद बरालको घरबाट सुन, नगद १ लाख १५ हजार, ल्यापटप र मोबाइल, २०८३ असार १५ गते पोखरा–१८ भकुण्डेका गिरिधारी श्रेष्ठको घरबाट १ तोला ५४ लाल सुन र दुई थान मोबाइल, २०८३ असार २३ गते पोखरा–८ का मोहसिन खतामीको कोठाबाट मोबाइल र ८५ हजार नगद, २०८३ असार २३ गते पोखरा–६ लेकसाइडका हिरामणी लामिछानेको घरबाट आइफोन लगायतका सामग्री चोरी गरेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, १ थान स्मार्ट घडी, १ थान ल्यापटप, विभिन्न तौलका सुनका ढिक्का र टुक्राहरू (करिब १५ तोला) र नगद २ लाख ८१ हजार २२० रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी वडा प्रहरी कार्यालय बैदाममार्फत थप अनुसन्धान भइरहेको पासवानले जानकारी दिए ।

यसैबीच, कास्की प्रहरीले सार्वजनिक बसमा यात्रुको पर्स चोरी गर्ने अर्को एक गिरोहलाई पनि पक्राउ गरेको छ । रौतहटका ४२ वर्षीय गुरुप्रसाद बजगाईं, ३४ वर्षीय रविन खड्का र झापाका ४५ वर्षीय टेकबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ