पोखरा । गण्डकी प्रदेशमा अत्यधिक चर्चामा रहेको गाँजा विधेयक प्रदेश प्रमुखले पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाएका छन् ।
औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखले फिर्ता गरेका हुन् । प्रदेश सभाबाट पारित भई सभामुखबाट प्रमाणित भएर आएको यो विधेयक नेपालको संविधान र संघीय कानुनसँग बाझिएको भन्दै उनले सभामा फिर्ता पठाएका हुन् । प्रदेश प्रमुखले नेपालको संविधानको धारा २०१ को उपधारा ३ बमोजिम सन्देशसहित विधेयक फिर्ता पठाएको जानकारी कार्यालयले दिएको छ ।
विधेयक प्रदेश सभा सचिवालयले २०८३ असार ३० गते प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । त्यसको केही समयपछि २०८३ साउन ८ गते शुक्रबार उनले यो विधेयक फिर्ता गर्ने निर्णय लिएका हुन् । नेपालको संविधानको धारा ५७ को उपधारा ६ मा प्रदेश सभा, गाउँ सभा वा नगर सभाले कानुन बनाउँदा संघीय कानुनसँग नबाझिने गरी बनाउनुपर्ने स्पष्ट व्यवस्था छ । प्रदेश सभाले बनाएको त्यस्तो कानुन संघीय कानुनसँग बाझिएको हदसम्म अमान्य हुने संवैधानिक प्रावधान रहेको छ ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ को दफा ४ को उपदफा २ मा पनि प्रदेशले कानुन बनाउँदा विचार गर्नुपर्ने कुराहरू उल्लेख छन् । सोही उपदफाको खण्ड ख मा प्रदेशले आफ्नो एकल वा साझा अधिकारको विषयमा कुनै कानुन वा नीति बनाउँदा संघीय कानुनसँग बाझिन नहुने उल्लेख गरिएको छ । गण्डकी प्रदेश सभाले तयार पारेको गाँजासम्बन्धी विधेयकले यी कानुनी आधारहरूलाई उल्लंघन गरेको सन्देशमा उल्लेख छ ।
संघीय कानुनका रूपमा रहेको लागू औषध नियन्त्रण ऐन २०३३ ले गाँजालाई पूर्ण रूपमा निषेध गरेको छ । उक्त ऐनको दफा ३ को खण्ड क को उपखण्ड १ मा गाँजा र उपखण्ड २ मा औषधोपयोगी गाँजालाई लागू औषधका रूपमा परिभाषित गरिएको छ । सोही ऐनको दफा ४ को खण्ड क ले गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न र बिक्री वितरण गर्न निषेध गरेको छ । त्यसैगरी गाँजाको निकासी वा पैठारी गर्न, ओसारपोसार गर्न, संचय गर्न वा सेवन गर्ने कार्यलाई समेत उक्त संघीय ऐनले पूर्ण रूपमा बन्देज लगाएको छ ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा संघीय कानुनसँग मेल नखाएका कारण विधेयकमाथि पुनर्विचार गर्नुपर्ने देखिएको उल्लेख छ । ‘औषधीजन्य र औद्योगिक प्रयोजनका लागि भनिए पनि संघीय ऐनले यसलाई लागू औषध मानेर निषेध गरेको अवस्था छ ।’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रदेश प्रमुखले फिर्ता गरेपनि सरकारले जस्ताको तस्तै पुनः प्रमाणिकरणको लागि पठाएमा संविधानतः प्रदेश प्रमुखसँग प्रमाणिकरण गर्न बाहेक अरु विकल्प रहन्न ।




सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन