जिल्लाको सदरमुकाम नजिकै रहेको प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गए पनि स्थायी चिकित्सक र कर्मचारीको अभावले सेवा प्रवाह प्रभावित बनेको छ ।
पुतलीबजार नगरपालिका–३ मा रहेको यस अस्पतालमा व्यवस्थापकीय सुधारसँगै नयाँ–नयाँ सेवा विस्तार भए पनि अधिकांश सेवा करार कर्मचारीको भरमा सञ्चालन भइरहेका कारण दीर्घकालीन रूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिन चुनौती थपिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा अहिले दैनिक दुई सयदेखि दुई सय ५० जनासम्म ओपिडीका बिरामी र ५० भन्दा बढी आकस्मिक बिरामी उपचारका लागि आउने गरेका छन् । मौसम परिवर्तनसँगै विभिन्न रोगका बिरामी बढेपछि ५० शय्याको अस्पतालमा सेवाको मागसमेत उल्लेख्य रूपमा बढेको छ ।
तर बढ्दो बिरामीको चापअनुसार आवश्यक जनशक्ति नहुँदा सेवा व्यवस्थापनमा समस्या भइरहेको अस्पतालको भनाइ छ । अस्पतालमा ६८ जनाको स्थायी दरबन्दी र करारसहित ९० जना कर्मचारीको व्यवस्था रहे पनि हाल स्थायी कर्मचारी भने ११ जना मात्रै कार्यरत छन् । बाँकी ७९ जना करार कर्मचारीको भरमा अस्पताल सञ्चालन भइरहेको छ ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष डिलकुमार भुजेलले स्थायी जनशक्तिको अभाव अस्पतालको सबैभन्दा ठूलो चुनौती बनेको बताए । उनका अनुसार करार कर्मचारी बारम्बार परिवर्तन भइरहने भएकाले सेवामा निरन्तरता र दक्ष जनशक्ति टिकाइराख्न कठिन भइरहेको छ । यसले सेवाको गुणस्तरमा समेत असर पर्ने गरेको उनको भनाइ छ ।
अस्पताल प्रशासनका अनुसार इमर्जेन्सी, ओपिडी, शल्यक्रिया, मातृ तथा प्रसूति सेवा, मिर्गौला डायलासिस, आँखा, दाँत, भिडियो एक्स–रेलगायतका सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् । तर सेवाको दायरा विस्तार भए पनि त्यसअनुसार स्थायी जनशक्ति व्यवस्थापन हुन नसक्दा कामको चाप बढ्दै गएको छ ।
अस्पताल सदरमुकाम नजिकै भए पनि सहज सडक पहुँचको अभाव र आवश्यक दरबन्दीअनुसार चिकित्सक तथा कर्मचारी नहुँदा सेवा विस्तारमा थप समस्या देखिएको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले प्रदेश सरकारले स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन आवश्यक पहल गरिरहेको बताए । उनले प्रदेश अस्पताल स्याङ्जामा देखिएको जनशक्ति अभाव समाधान गर्दै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
पछिल्ला वर्षहरूमा प्रदेश अस्पताल स्याङ्जाले पूर्वाधार, उपकरण र सेवा विस्तारमा उल्लेखनीय प्रगति गरेको भए पनि स्थायी चिकित्सक र कर्मचारीको अभाव समाधान नगरेसम्म अपेक्षित स्तरको स्वास्थ्य सेवा दिन कठिन हुने देखिएको छ ।
त्यसैले अस्पतालको दीर्घकालीन सुधार र सेवा गुणस्तर अभिवृद्धिका लागि आवश्यक दरबन्दी पूर्ति र स्थायी जनशक्ति व्यवस्थापनमा सरकारले समयमै ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा