स्याङ्जा जिल्लामै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकाबाट औपचारिक रूपमा करदाता सेवा सञ्चालनमा आएको छ । गाउँपालिकामै सेवा उपलब्ध हुन थालेपछि अब स्थानीय नागरिक र व्यवसायीले प्यानदेखि भ्याटसम्बन्धी विभिन्न कामका लागि अन्यत्र धाउनुपर्ने अवस्था कम हुने भएको छ ।
करदाता सेवा सञ्चालनका लागि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत शिवप्रसाद ढुङ्गाना र अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सरकारले करदाता सेवा कार्यालयको संरचना हटाएपछि स्याङ्जाका ११ स्थानीय तहमध्ये अर्जुनचौपारी गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय पोखरासँग सम्झौता गरी जिल्लामै पहिलोपटक यस्तो सेवा सुरु गरेको हो ।
यसअघि करदाता सेवा कार्यालय स्याङ्जाबाट उपलब्ध हुँदै आएका केही सेवा अब गाउँपालिकाबाटै प्राप्त गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।
उनका अनुसार गाउँपालिकाबाट व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने, प्यान संशोधन गर्ने तथा रूपान्तरणलगायतका सेवा उपलब्ध हुनेछन् ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता, रूपान्तरण र खारेजीका साथै कर चुक्ता प्रमाणपत्रसँग सम्बन्धित सेवासमेत आन्तरिक राजस्व कार्यालय पोखराको समन्वयमा गाउँपालिकाबाटै उपलब्ध गराइनेछ ।
अर्यालका अनुसार करसम्बन्धी अधिकांश काम अब स्थानीय तहमै हुनेछन् । गाउँपालिकाबाट समाधान हुन नसक्ने प्राविधिक वा अन्य विषयमा भने आन्तरिक राजस्व कार्यालय पोखरासँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
पालिकामै करदाता सेवा सुरु भएपछि करको दायरामा आउने व्यक्ति तथा व्यवसायीको समय र आर्थिक खर्च बचत हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
कालीगण्डकी नदीमा पुरुषको शव फेला
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन