पोखरा । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ बाट आर्जित मुनाफा भोटेकोशी बाढी प्रभावितलाई सहयोग गरिने भएको छ।
प्रतियोगिताबारे जानकारी दिन आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिताको मुनाफा बाढी प्रभावितको सहयोगमा खर्च गरिने जानकारी दिएका हुन्। श्रेष्ठका अनुसार प्रतियोगिताको तयारीका क्रममा क्रियाशील पत्रकारको हितलाई प्राथमिकतामा राखिएको भए पनि पछिल्लो परिस्थितिका कारण प्रतियोगिताको उद्देश्य परिवर्तन गरिएको हो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै श्रेष्ठले गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुने टोलीलाई पोखरामा स्वागत गर्न आयोजक आतुर रहेको बताए।
‘प्रतियोगिता प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले खुला खेलको अवधारणामा सञ्चालन गरिनेछ,’ श्रेष्ठले भने।
प्रतियोगितामा सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले सहभागिता जनाउन पाउनेछन्।
गण्डकी प्रदेशबाहिरका विभिन्न जिल्लाका पत्रकारले समेत प्रतियोगितामा सहभागी हुने इच्छा देखाएपछि उनीहरूलाई गण्डकी प्रदेशभित्रका जिल्लाबाट प्रतिनिधित्व गराएर सहभागी गराउने व्यवस्था गरिएको श्रेष्ठले बताए।
प्रतियोगितामा सहभागी हुने कास्कीबाहेकका जिल्लाका टोलीका लागि आयोजकले दुई छाक खाना र एक रातको बसोबासको व्यवस्था गर्ने जनाएको छ। यातायात खर्च भने सम्बन्धित टोली वा खेलाडीले स्वयं व्यहोर्नुपर्नेछ।
जिल्लाबाट सहभागिता जनाउने टोलीलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यातायात तथा तयारी खर्चका लागि खेल संघहरूसँग सहजीकरण र सहयोग गर्न प्रदेश खेलकुद परिषद्, गण्डकीमार्फत पत्राचारसमेत गरिएको आयोजकले जनाएको छ।
पत्रकारितामा सक्रिय रहे पनि परिचयपत्र नभएका खेलाडीको हकमा सम्बन्धित नेपाल खेलकुद पत्रकार मञ्च वा नेपाल पत्रकार महासंघको जिल्ला शाखाबाट सिफारिस ल्याउनुपर्नेछ।
खेलका क्रममा वा खेलपछि कुनै टोलीले खेलाडीको सहभागितामाथि आपत्ति वा विवाद गरेमा त्यसको जिम्मेवारी सम्बन्धित जिल्ला शाखा वा खेलकुद पत्रकार मञ्चको हुने आयोजकले स्पष्ट पारेको छ।
प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बीमासमेत गरिनेछ। अध्यक्ष श्रेष्ठले बीमाको प्रक्रिया पूरा गर्न आवश्यक खेलाडी विवरण यथाशीघ्र उपलब्ध गराउन सहभागी टोलीलाई आग्रह गरेका छन्।
यसअघि भदौ २० गतेसम्म टिम दर्ता गर्ने समयसीमा तोकिए पनि देशको पछिल्लो विषम परिस्थितिलाई मध्यनजर गर्दै दर्ताको समय केही दिन तलमाथि हुन सक्ने आयोजकले जनाएको छ।
परिस्थितिका कारण निर्धारित समयभित्र दर्ता गर्न नसकेका इच्छुक टोलीलाई केही दिन थप समय दिन सकिने भए पनि प्रतियोगिता सञ्चालन हुने मिति भने परिवर्तन नहुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे।
‘अहिलेको विषम परिस्थितिलाई हेरेर टिम दर्ताको समय केही दिन तलमाथि हुन सक्छ,’ श्रेष्ठले भने, ‘तर प्रतियोगिता असोज २ र ३ गते नै हुन्छ। तीन–चारवटा टोलीले मात्र दर्ता गरे पनि खेल तोकिएकै समयमा सञ्चालन हुन्छ।’
प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितालाई सफल बनाउन विभिन्न संघ–संस्था तथा व्यावसायिक प्रतिष्ठानले सहकार्य गरेका छन्।
प्रतियोगिताको प्रायोजकमा पोखरा महानगरपालिका वडा नम्बर १२ र कफी डी हिमालयज रहेका छन्। सहयोगी संस्थाका रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति र पोखरा महानगरपालिका वडा नम्बर ३ रहेका छन्।
त्यस्तै, प्रतियोगिताको प्रवर्द्धकमा परिचय एडभर्टाइजिङ र लिड्स इभेन्ट्स, एडभेन्चर पार्टनरमा गो बन्जी तथा प्रिन्टिङ पार्टनरमा पीएम सोलुसन रहेका छन्।
मेडिकल पार्टनरमा गण्डकी मेडिकल कलेज तथा हस्पिटालिटी पार्टनरमा चाइनिज गार्डेन रेष्टुरेन्ट एण्ड बार रहेका छन्। प्रेस मिटको भेन्यू पार्टनरका रूपमा सफल ब्याङ्क्वेट, अमरसिंह चौरले सहकार्य गरेको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था र जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए।
विभिन्न संघ–संस्था तथा व्यावसायिक प्रतिष्ठानको सहकार्यले प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा थप सहजता पुग्ने आयोजकको विश्वास छ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु