खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

राजनीति

खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

rabi khagendra

काठमाडौँ — रास्वपाले सांसद खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनीमाथि उठाइएका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सांसद सुनारमाथि लागेका आरोप निकै गम्भीर र संवेदनशील भएको बताएका हुन् ।

जनआस्थाले ‘रास्वपा सांसद खगेन्द्र सुनार अर्को विवादमाः पूर्व मन्त्रीलाई मार्ने धम्की, पैसा असुली (अडियो र बैंकिङ कारोबारको विवरणसहित)’ शीर्षकमा सोमबार समाचार प्रकाशित गरेपछि रास्वपाले विज्ञप्ति जारी गरेको हो । उक्त समाचारमा सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गरेको भनिएको छ । जनआस्थाले सुनारले धम्की दिएको ४ वटा अडियोसमेत फेला पारेको जनाएको छ ।

विज्ञप्तिमा महामन्त्री आचार्यले भनेका छन्, ‘सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन् । विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन ।’

महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि महामन्त्री आचार्यको भनाइ छ । यस विषयमा सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको पनि उनले बताएका छन् ।

‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ,’ विज्ञप्तिमा भनिएको छ । राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने महामन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ रहेको भन्दै राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्ने उनले भनेका छन् । ‘कानुनको उल्लंघन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै हुने छैन भन्ने कुरामा हामी सम्पूर्ण जनसमुदायलाई आश्वस्त पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ