विभिन्न १३ देशका लागि प्रस्तावित नेपाली राजदूतमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको छ।
समितिले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गरेको छ भने जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नामबारे निर्णय दशैंपछि गर्ने भएको रास्वपा सांसद दीपक बोहोराले बताए ।
बुधबार बसेको संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको बोहोराले बताए।
समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झा छन्।
साउदीका सुनारको नाम अस्वीकृत
समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अनुमोदन गर्न अस्वीकार गरेको छ। सुनुवाइका क्रममा उनको विगत र जर्मनीबाट निष्कासन गरिएको विषयलगायतका प्रश्न उठेका थिए।
सुनारसँग सम्बन्धित विभिन्न विषयमा समितिमा छलफल भएपछि नाम अस्वीकृत गर्ने निर्णय गरिएको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
मलेसियाका खरेल पनि अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम पनि समितिले अस्वीकृत गरेको छ। सुनुवाइका क्रममा उनीमाथि आर्थिक लेनदेन, स्वार्थको द्वन्द्व तथा स्थानीय तहमा अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका आरोपबारे प्रश्न उठेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले खरेलमाथि विभिन्न उजुरी परेको उल्लेख गर्दै आर्थिक कारोबार, म्यानपावर कम्पनीसँगको सम्बन्ध र बेरुजुसम्बन्धी विषयमा जवाफ मागेका थिए। खरेलले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै अनुदान मिलाइदिने आश्वासन नदिएको र कसैबाट त्यसरी रकम नलिएको दाबी गरेका थिए।
सुनुवाइका क्रममा उठेका विषयमा छलफल गरेपछि समितिले खरेलको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।
जापानका थापाको निर्णय दशैंपछि
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने समितिले तत्काल अनुमोदन वा अस्वीकृत नगरी होल्डमा राखेको छ। उनको सुनुवाइका क्रममा जापानको स्थायी आवासीय अनुमति (पीआर) र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेका थिए।
थापाले आफूले पीआर त्यागिसकेको बताए पनि त्यससम्बन्धी आवश्यक कागजात समितिमा प्राप्त नभएको सभापति श्रेष्ठले जानकारी दिए। सम्बन्धित कागजात माग गरिएको र त्यसबारे पत्र आउने प्रक्रियामा रहेकाले कागजात प्राप्त भएपछि मात्रै निर्णय लिन उपयुक्त हुने धारणा बैठकमा राखिएको थियो।
बैठकमा रास्वपाका सांसद कविन्द्र बुर्लाकोटीले आवश्यक कागजात प्राप्त नभएसम्म थापाको नाम होल्डमा राख्नुपर्ने बताएका थिए। नेकपाका सांसद वर्षमान पुनले भने उनको नाम अस्वीकृत गर्नुपर्ने धारणा राखेका थिए।
दुवै पक्षका धारणा सुनेपछि समितिले थापाको नामबारे दशैंपछि निर्णय गर्ने जनाएको छ। सभापति श्रेष्ठले आवश्यक कागजात प्राप्त भएपछि थप निर्णय लिइने जानकारी दिँदै बैठक स्थगित गरेका थिए।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने