पोखरा । कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। हिजो कार्तिक २७ गते शुक्रबार एकैदिन १ हजार ३८४ जना पर्यटक सिक्लेस पुगेका छन्। तीमध्ये ६६६ महिला र ७१८ पुरुष रहेका छन् भने ६ जना विदेशी पर्यटक छन्।
मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार तिहारको भोलिपल्ट कार्तिक २६ गते पनि १ हजार ३२४ जना पर्यटकले सिक्लेस भ्रमण गरेका थिए। पछिल्लो समय गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति, परम्परा र जीवनशैलीको अध्ययन तथा अवलोकन गर्न सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको उनले बताए।
सिक्लेस भ्रमणमा आउने पर्यटकले सिक्लेस म्युजियम, क्होइबो, गुम्बा, सिक्लेस पार्क, चायक्वो भ्यु प्वाइन्ट र रिसिधुडाँडा भ्यु प्वाइन्टलगायतका पर्यटकीय स्थल अवलोकन गर्ने गरेका छन्। त्यसैगरी, प्रख्यात क्हफुचे हिमताल र कोरी पदयात्राका लागि पनि सिक्लेसलाई मुख्य आधार बनाएर पर्यटकहरू यात्रा गर्ने गर्छन्।

तर, एकैदिन ठूलो सङ्ख्यामा पर्यटक पुग्दा स्थानीय होटल तथा होमस्टेमा पाहुना व्यवस्थापन गर्न कठिनाइ भएको वडाध्यक्ष गुरुङले बताए। केही होटल तथा होमस्टे सञ्चालक तिहार मनाएर गाउँ नफर्किएका कारण व्यवस्थापनमा थप समस्या भएको उनको भनाइ छ। पर्यटकको चापलाई व्यवस्थित बनाउन भ्रमणमा आउनुअघि जानकारी गराउन उनले आग्रह गरेका छन्।
सिक्लेस होटल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रजङ्ग गुरुङ ‘पारस’ले अग्रिम जानकारी तथा बुकिङ नगरी ठूलो सङ्ख्यामा पर्यटक आउँदा होटल र होमस्टेको क्षमताभन्दा बढी चाप परेको बताए। यद्यपि, होटल तथा होमस्टेमा ठाउँ नपुगेका पर्यटकलाई स्थानीयका घर तथा आफन्तकहाँ राखेर व्यवस्थापन गरिएको उनले जानकारी दिए।
दसैँ–तिहारपछि सिक्लेस आउने पर्यटकको सङ्ख्या बढ्दै गएकाले भ्रमणमा निस्कनुअघि सम्बन्धित होटल, होमस्टे वा पर्यटन व्यवसायीसँग सम्पर्क गरेर मात्र आउन उनले आग्रह गरेका छन्।
उनका अनुसार सिक्लेसमा हाल ३२ वटा होटल र ३७ वटा होमस्टे सञ्चालनमा छन्। ती होटलमा एक हजार २०० र होमस्टेमा ३५० जनासम्म पाहुना राख्न सक्ने क्षमता छ। गाउँका अन्य घरमा समेत पाहुनाको व्यवस्थापन गर्न सकिने भएकाले एकैदिन करिब दुई हजार पर्यटकलाई सेवा दिन सकिने भए पनि अग्रिम जानकारीबिना पर्यटक आउँदा व्यवस्थापनमा समस्या हुने उनले बताए।
सिक्लेस पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङले पर्यटकको बढ्दो आगमनले स्थानीयको आम्दानी र रोजगारीमा सकारात्मक प्रभाव पारेको बताए। उनका अनुसार गाउँका होटल तथा होमस्टेमा करिब १०० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्। पर्यटकको चाप बढेका बेला सञ्चालकका परिवारका सदस्यले समेत पाहुना व्यवस्थापनमा सहयोग गर्ने गरेका छन्।
पोखराबाट करिब ३८ किलोमिटरको दूरीमा रहेको सिक्लेसमा झन्डै ४०० घरधुरी छन्। गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा प्राकृतिक सौन्दर्यसँगै मौलिक संस्कार र संस्कृतिको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।
प्राकृतिक सौन्दर्य, गुरुङ समुदायको मौलिक पहिचान, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको संगम बनेको सिक्लेस पछिल्लो समय लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। पर्यटकको बढ्दो आगमनले स्थानीय पर्यटन व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

फाइल तस्वीर
सम्बन्धित खबर
सिक्लेसमा पर्यटकको ओइरो, एकैदिन १ हजार ३८४ पर्यटक पुगे
पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो
पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका
पोखरामा अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम सम्पन्न, गोर्खा गार्डलाई सीईबीएको मान्यता
सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
यो पनि पढौँ
पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे
पर्सामा पटाका पड्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित