स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा

स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा

jhopu_syangja-galyang

स्याङ्जाको गल्याङ नगरपालिकामा बनेको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–११ बुढाथोकीडाँडा र वडा नं. ७ सेनापुक जोड्ने ४४४ मिटर लामो पुल सञ्चालनमा आएको हो ।

झोलुङ्गे पुल सञ्चालनमा आएसँगै एक घण्टाको यात्रा अब १५ मिनेटमा छोटिएको छ ।

संघीय सरकारअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौंमार्फत पुल निर्माण गरिएको हो । नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार पुल निर्माणमा ४ करोड ५६ लाख ५८ हजार २४८ रुपैयाँ ६० पैसा खर्च भएको छ ।

यसअघि करादीमा बनेको झोलुङ्गे पुलभन्दा गल्याङमा निर्माण भएको पुल ७६ मिटर लामो छ । जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत वर्ष १० असारमा निर्माणको जिम्मा लिएको थियो । १८ महिनाभित्र काम सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले पाँच महिनाअघि नै पुल तयार पारेको नगरप्रमुख भट्टराईले बताए ।

निर्माण अवधि गुज्रिएर धेरै आयोजना अलपत्र परिरहेका बेला जिल्लाकै लामो पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भएको उनको भनाइ छ ।

पुल सञ्चालनमा आएपछि बुढाथोकीडाँडा र सेनापुक क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । विशेषगरी व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका लागि ओहोरदोहोर गर्ने स्थानीयलाई समय बचत भएको नगरपालिकाले जनाएको छ ।

पुल बनेपछि गल्याङ नगरपालिका–७ सेनापुक सिधै सिद्धार्थ राजमार्गसँग जोडिएको छ । यसअघि उक्त क्षेत्रबाट राजमार्गसम्म पुग्न करिब एक घण्टा लाग्नेमा अहिले १५ मिनेटमै पुग्न सकिने भएको छ ।

पुलको भारवहन क्षमता एक हजार ५८ जना मानिस र १३३ मेट्रिक टन रहेको जनाइएको छ । नगरप्रमुख भट्टराईले पुलले गल्याङको भौतिक पूर्वाधारसँगै आर्थिक, पर्यटन र सामाजिक विकासमा समेत योगदान पुर्‍याउने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ