भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे

धर्म संस्कार

भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे

bhaiteeka tihar

पोखरा । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको तिहार तथा भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाका लागि उत्तम साइत रहेको छ।

समितिका अध्यक्ष प्राडा पुरुषोत्तम भट्टराईले तिहारका विभिन्न पर्वको मिति र समय निर्धारण गरिएको जानकारी दिए। उनका अनुसार साइत खोजेर टीका लगाउन चाहनेका लागि अभिजित् मुहूर्तको समय तय गरिएको हो।

मध्याह्नकालमा टीका लगाउन साइत कुर्नुपर्ने बाध्यता भने छैन। सर्वसाधारणले मध्याह्नकालमा जुनसुकै समयमा भाइटीका लगाउन सक्ने समितिले जनाएको छ। तर राज्य सञ्चालकका लागि भने निर्धारित साइतमै टीका लगाउनुपर्ने व्यवस्था रहेको छ।

यस वर्षको यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ। त्यस दिन धनत्रयोदशी अर्थात् धनतेरस पर्व मनाइनेछ। कात्तिक २१ गते शनिबार काग तिहार र धन्वन्तरी जयन्ती परेको छ। त्यसको भोलिपल्ट कात्तिक २२ गते आइतबार नरक स्नानसहित कुकुर तिहार मनाइनेछ। सोही दिन साँझ लक्ष्मीपूजा पनि हुनेछ।

तिथिको अवस्थालाई आधार बनाएर समितिले पर्वहरूको मिति निर्धारण गरेको हो। कात्तिक २२ गते दिउँसो कार्तिक कृष्ण चतुर्दशी रहनेछ। त्यसपछि औंसी तिथि सुरु हुनेछ। शास्त्रीय मान्यताअनुसार साँझ औंसी तिथि परेको दिन लक्ष्मीपूजा गर्नुपर्ने हुन्छ। त्यसैले यस वर्ष लक्ष्मीपूजा कात्तिक २२ गते आइतबार साँझ मनाइनेछ। औंसी तिथिमा गरिने स्नान र दान भने कात्तिक २३ गते सोमबार बिहान गर्नुपर्ने समितिले जनाएको छ।

कात्तिक २४ गते मंगलबार गाई, गोरु र आत्म (म्ह) पूजा गरिनेछ। शास्त्रीय ग्रन्थ ‘कृत्यवाटिका’मा कार्तिक शुक्ल प्रतिपदाको साँझ आत्म (म्ह) पूजा गर्नुपर्ने उल्लेख छ। यस वर्ष कार्तिक शुक्ल प्रतिपदा सुरु हुने दिन यही भएकाले आत्मपूजा कात्तिक २४ गते नै गर्नुपर्ने समितिको निर्णय छ।

आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायमा प्रचलित पर्व हो। समितिबाट स्वीकृति प्राप्त तीनवटा पात्रो नेवार समुदायका पञ्चांगकारले पनि प्रकाशन गर्दै आएका छन्। सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीले तयार पारेका पात्रोमा समेत कात्तिक २४ गते नै आत्म (म्ह) पूजा गर्नुपर्ने उल्लेख छ।

नेपाल संवत् ११४७ को नयाँ वर्ष पनि कात्तिक २४ गतेबाटै सुरु हुनेछ। शास्त्रीय मान्यताअनुसार प्रतिपदाका दिन सूर्योदय भएको दिनलाई नयाँ वर्षका रूपमा मनाउनुपर्छ। सोही आधारमा यस वर्ष नेपाल संवत्को नयाँ वर्ष र आत्मपूजा एकै दिन परेको हो।

भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व पनि कात्तिक २५ गते बुधबार नै मनाइनेछ। शास्त्रीय विधिअनुसार भाइटीका मध्याह्नकालमा लगाउनुपर्ने भएकाले समितिले यही दिनलाई उपयुक्त ठहर गरेको हो। भाइटीकाको साइत खोज्नेका लागि भने बिहान ११ः०७ बजेको समय निर्धारण गरिएको छ।

शास्त्रीय ग्रन्थमा ‘भ्रातृपूजा’ शब्द प्रयोग भएको अध्यक्ष भट्टराईले बताए। उक्त शब्दले दाजु र भाइ दुवैलाई समेट्ने उनको भनाइ छ। भाइटीका भन्ने चलन रहे पनि टीकाटाला गर्दा ज्येष्ठताको क्रमअनुसार गर्नुपर्ने समितिले जनाएको छ।

तिहारमा यमपञ्चकसँग जोडिएका धार्मिक परम्परालाई पनि विशेष महत्व दिइन्छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। यस अवधिमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गर्ने परम्परा छ।

परिवारका सदस्यको संख्याअनुसार नाम उच्चारण गर्दै यमदीपदान गरिन्छ। यसरी दीपदान गर्दा यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ।

तिहारमा काग र कुकुरलाई मीठा परिकार खुवाउने चलन पनि छ। वैदिक परम्पराअनुसार काग र कुकुरलाई यमदूतका रूपमा लिइन्छ। उनीहरूलाई मीठा परिकार दिएर खुसी पार्दा यमलोकमा सहयोग प्राप्त हुने धार्मिक विश्वास छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ