पोखरा । शताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको छ । परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो ।
‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे । पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन लिएर त्यहीँ पुग्थे । पोखराका व्यवसायीहरुले रासनदेखि लत्ता कपडासम्म बिक्रीका लागि लैजान्थे । त्यहीँबाट आवश्यकताको पूर्ती र आर्थिक बिनिमय हुन्थ्यो । अनि बल्ल पोखरामा दसैं भित्रिन्थ्यो ।’
राष्ट्रिय उच्च माविका प्राधानाध्यापक कृष्णलाल बास्तोला ‘उदासी’ पोखरा टुँडिखेलमा हुने ऐतिहासिक मेलाको यसरी स्मरण गर्छन् । पोखरामा दसैंको रौनक भित्राउने ऐतिहासिक टुँडिखेल मेला कहिलेदेखि सुरु भयो, ठ्याक्कै एकीन छैन । तर, शताब्दीअघि नै स्वतस्फूर्त रुपमा यो मेला हुँदै आएको स्थानीयहरु बताउँछन् ।
‘यो स्कुल २००६ मा खुलेको हो । तर, त्योभन्दा पनि यहाँ मेला लाग्थ्यो । ठ्याक्कै कहिलेदेखि भन्ने अभिलेख भेटिँदैन,’ व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी बताउँछन् ।
स्थानीयको आवश्यकता र आर्थिक बिनिमय तथा किनमेलको ऐतिहासिक टुँडिखेल मेला यसपटक पनि हुने भएको छ । राष्ट्रिय उच्च मावि पोखराको व्यवस्थापनमा फूलपातीदेखि दसैंको भोलिपल्टसम्म यो मेला सञ्चालन हुने उनले बताए ।
पहिले स्वतस्फूत रुपमा हुने यो ऐतिहासिक मेला २०७५ सालदेखि विद्यालयले व्यवस्थापन गर्न थालेको हो । त्यसअघि मेलामा हानाधान तथा गुण्डागर्दीसमेत भएर बद्नाम हुन थालेपछि व्यवस्थापनका लागि विद्यालयले नेतृत्व लिन थालेको प्रधानाध्यापक उदासीले बताए ।
‘पहिले धेरै त यहाँकै स्थानीयले भेडाच्यांग्रा लिएर बिक्रिवितरण गर्थे । अन्त पाइँदैन थियो । च्यांग्राका लागि टुँडिखेल नै पुग्नुपर्छ भन्ने थियो । यो प्राचिन हाट बजार थियो,’ प्रधानाध्यापक उदासी भन्छन्, ‘पछि टेन्डर हुन थालेपछि विकृति भित्रियो । काटमार हुन थाल्यो । मेलाको मौलिकता नै हरायो ।’
टुँडिखेल छाडेर हेमजा फाँट उक्लिन थालेका भेडाच्यांग्राको रौनक फेरि फर्काउने लक्ष्यसहित विद्यालय व्यवस्थापन समितिले दसैंको छेकोमा यसपल्ट पनि मेला आयोजना गर्दैछ । मेलामा भेडाच्यांग्रालाई व्यवस्थित गर्न गोठ पनि निर्माण गरिँदैछ । विद्यालय व्यवस्थापन समितिका सदस्य तथा मूल आयोजक समितिका संयोजक बलराम अधिकारीका अनुसार अहिले कम्तिमा १० वटा गोठ निर्माण हुनेछ भने १ सय ५० वटासम्म स्टलहरु हुने छ । ‘आवश्यकताअनुसार गोठ थपघट हुन पनि सक्छ,’ उनले भने ।
टुँडिखेलबाट दसैंका लागि आएका भेडाच्यांग्रा विस्थापन हुनुको अर्को कारण चरण क्षेत्रको अभाव रहेको पनि अधिकारीको भनाइ छ । ‘वरिपरिका सबै चरण क्षेत्र घडेरीले प्याक भइसके । चरण क्षेत्र नै नभएपछि भेडाच्यांग्रा ल्याउने क्रम पनि विस्तारै टुट्नेक्रम बढेको हो,’ उनले भने । अहिले पोखराकै वडा नं. २५ हेम्जामा भेडाच्यांग्रा राखिने गरिन्छ ।
विद्यालयका अनुसार दसैंको फूलपातीदेखि लाग्ने दसंैं मेलामा भेडाच्यांग्राको गोठ व्यवस्थापनका लागि व्यापारीसँग निश्चित रकम लिए पनि हस्तकलाका लागि भने शुल्क लिइने छैन ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन