पोखरा । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको दाबीसहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघलाई मंगलबार अल्टिमेटम र स्मरणपत्र बुझाएको छ । महासंघ प्रदेश र जिल्ला शाखाहरुले फोनिजको प्रदेश र सम्बन्धित शाखाहरुले सातदिने अल्टिमेटम र स्मरणपत्र बुझाए ।
फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङ र कास्की अध्यक्ष दिलप्रसाद गुरुङ नेतृत्व टीमले मंगलबार प्रदेश र जिल्लामार्फत महासंघ केन्द्रलाई पत्र बुझायो । महासंघ गण्डकीतर्फबाट महासचिव गोविन्द सुवेदी र कास्कीतर्फबाट विमला भण्डारीले पत्र बुझेका हुन् ।
फोनिज लामो समयदेखि नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन संघर्षरत छ ।
तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) का संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समितिमार्फत माग गरिएको थियो । त्यसैको स्मरण गर्दै फोनिजले पुनः स्मरणपत्र बुझाएको हो ।
२००८ बैशाख ९ मा श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुनर्गठन गरेको इतिहास रहेको स्मरणपत्रमा उल्लेख गरिएको छ । त्यसपछि, २०१२ चैत १६ गते पुनर्गठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेको पनि पत्रमा छ । तथ्यहरुले सत्यनारायणबहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको स्मरणपत्रमा उल्लेख छ ।
सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो ।
अल्टिमेटममा ७ दिनभित्र सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गरिएको छ । माग पूरा नभए महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने चेतावनी दिइएको छ ।
महासंघ गण्डकी महासचिव सुवेदीले फोनिजको माग सहितको अल्टिमेटम र स्मरणपत्र तत्काल केन्द्रमा पठाउने बताए । सत्य लुकाएर लुक्न नसक्ने उनको भनाइ थियो । केन्द्रले अझै गहन अनुसन्धान गरेर यसबारे निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले फोनिजको मागसहितको ज्ञापनपत्र तत्काल केन्द्रमा पठाउने बताइन् । पत्रकारबीचको सद्भाव खलल हुन नदिन आफ्नोतर्फबाट प्रयास रहने उनले सुनाइन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार